पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ। सोका लागि झण्डै १५ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन्। प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मन्त्रालयको गत माघ २९ गतेको मन्त्रीस्तरिय बैठकले आयोजनाको छनोट तथा बजेट विनियोजन गरेको हो।
गण्डकी प्रदेशमा सबैभन्दा धेरै योजना बागलुङ र गोरखामा सञ्चालन हुनेछन्। यी जिल्लामा तीन/तीन योजना छनोट भएका मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ। बागलुङ नगरपालिका–५ र ६ को मालिका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु संरक्षण तथा पर्यटन प्रबद्र्धन आयोजना सञ्चालन हुने भएको छ। पाँच करोड ६५ लाख रुपैयाँको योजनामा तीन करोड ६५ लाख मन्त्रालयले र एक करोड ९६ लाख रुपैयाँ नगरपालिकाले साझेदारी गर्ने नगर प्रमुख जनकराज पौडेलले बताए।
गलकोट नगरपालिकामा गलकोट टेउवा मूर्तिकला संग्रहालय निर्माण तथा घुम्टेसम्म सडक पहुँच विस्तारको योजना छनोट भएको छ। दुई वर्षमा सकिने सात करोड रुपैयाँको लागतको यो योजनाका लागि मन्त्रालयको चार करोड ५५ लाख अनुदान र नगरपालिकाको दुई करोड ४५ लाख रुपैयाँ साझेदारी रहने छ।
ताराखोला गाउँपालिकामा सांस्कृतिक संग्रहालय निर्माणका लागि बजेट विनियोजन गरिएको छ। दुई करोड ६६ लाख रुपैयाँको योजनाका लागि एक करोड ८६ लाख रुपैयाँ मन्त्रालय र ८० लाख रुपैयाँ गाउँपालिकाले साझेदारी गर्नेछन्।