जलविद्युत् लगानी तथा विकास कम्पनीले ४ सय ७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड रुपैयाँ ऋण लगानी गरेको जनाएको छ। कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ।
चालु आर्थिक वर्षभित्रै कूल १ सय ८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन्। कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५ सय ४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा नौ अर्ब ४५ करोड रुपैयाँ लगानी गरिसकेको कम्पनीले जनाएको छ।
चीन सरकारको स्वामित्वमा रहेको पावर चाइनासँगको सहकार्यमा १ सय ५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना तथा ७ सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको पनि कम्पनीको भनाइ छ। कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ।
हाल कम्पनीको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ, जारी पूँजी २२ अर्ब रुपैयाँ र हालसम्मको चुक्ता पूँजी १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कम्पनीले हालसम्म आठ अर्ब ३६ करोड रुपैयाँ कूल आम्दानी गरेको र त्यसमा पाँच अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले हालसम्म नेपाल सरकारलाई एक अर्ब ८५ करोड रुपैयाँ आयकर तिरेको छ भने शेयरधनीलाई छ अर्ब २८ करोड रुपैयाँ लाभांश वितरण गरेको छ। लाभांशमध्ये नेपाल सरकारतर्फ दुई अर्ब १६ करोड रुपैयाँ र अन्य शेयरधनीतर्फ चार अर्ब १२ करोड रुपैयाँ वितरण भएको कम्पनीले जनाएको छ।
कम्पनीले आगामी आर्थिक वर्ष २०७८/७९ सम्म कूल ३ हजार ३ सय ३९ मेगावाट क्षमताका २३ आयोजनामा १० अर्ब ७६ करोड रुपैयाँ स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ। साथै, ऋण लगानीतर्फ कूल २ हजार ८ सय १० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी १२ अर्ब ६७ करोड रुपैयाँ पुर्याउने लक्ष राखेको छ। कम्पनीले आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ १ सय अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको पनि जनाएको छ।
अघिल्लो वर्षमा ११ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट पाँच अर्ब ५० करोड रुपैयाँ शेयरबापतको रकम प्राप्त भइसकेको र तीनवटा वित्तीय संस्थाबाट तीन अर्ब ३० करोड रुपैयाँ प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए। यसै आवभित्र सर्वसाधारणलाई दुई अर्ब २० करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको र यही माघ महिनाभित्रै अग्राधिकार शेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिए।