पोखरा उद्योग वाणिज्य सङ्घको ३३औँ महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन्। कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
घोषणा गरिएको मतपरिणामअनुसार कोइरालाले एक हजार ३७५ मत प्राप्त गरेका तथा सुवेदीले ९६५ मत प्राप्त गरेका थिए। कोइराला अहिले सङ्घमा वरिष्ठ उपाध्यक्ष र सुवेदी उद्योगतर्फका उपाध्यक्ष थिए। तेत्तीसौँ अधिवेशनबाट सङ्घमा चार उम्मेदवार भने निर्विरोध भएका छन्। वरिष्ठ उपाध्यक्ष र तीन सदस्य निर्विरोध चुनिएका हुन्।
पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएकाहुन्। हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध निर्वाचित भए। औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित पनि सर्वसम्मत् चयन भएका छन्।
शनिबार भएको मतदानमा कूल तीन हजार ५४ मतदातामध्ये दुई हजार ३६५ मत खसेका थिए। उपाध्यक्ष (वाणिज्य)तर्फ अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग)तर्फ गोकर्ण कार्की निर्वाचित भए। यस्तै महासचिवमा सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित भए।
अधिवेशनमा १० सदस्यका लागि १६ जनाको उम्मेदवारी परेकामा शोभा गौतम, देवेन्द्र केसी, कुमारी मुना बाँस्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानाङग, हरिराज पन्त, भरत केसी, दिनेशचन्द्र बाँस्तोला, सुदनबहादुर कोइराला र पवित्रादेवी गुरुङ निर्वाचित भएको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए।
चार जना वस्तुगत सदस्यतर्फ बालाकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष कोइरालाले व्यवसायीको साझा उम्मेदवार बनेर अग्रज अनुभव र मार्गनिर्देशनबाट दुई वर्षे कार्यकालमा व्यवसायीको हक हितमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।
नवनिर्वाचित अध्यक्षलाई सङ्घका निवर्तमान अध्यक्ष दामु अधिकारीले पद तथा गोपनीयताको शपथ खुवाए। निर्वाचित अध्यक्षले निर्वाचित अन्य पदाधिकारी तथा सदस्यलाई शपथ गराएका थिए।