पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई वेड सहयोग गरेको छ। हेल्थ इक्वीपमेन्टअन्तर्गत उद्योग आफैंले निर्माण गरेको वेड शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पोदरेजका प्रबन्ध निर्देशक प्रमोद गौतमले समयको माग अनुसार मेडिकल प्रयोजनका लागि उद्योगले हेल्थ इक्वीपमेन्ट निर्माण शुरु गरेको जानकारी दिए। उनले सामाजिक उत्तरदायित्व बहन गर्दै टिचिङ अस्पताललाई वेड हस्तान्तरण गरिएको बताए।
त्यस्तै, अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले पोदरेजले अस्पतालको लागि वेड उपलब्ध गराएकोमा खुशी व्यक्त गरेका छन्। डा. काफ्लेले उद्योगको सफलताको कामना गर्दै आगामी दिनमा अस्पतालको आवश्यकता अनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिने बताए। उनले चित्त बुझ्दो सामग्री उत्पादन र वितरण हुने हो भने सहकार्य गर्न सकिने जानकारी दिए।
पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिज स्टिलका सामग्री उत्पादन गर्ने नेपालको एकमात्र अग्रणी उद्योग हो। पोदरेज पारिवारिक उद्योगको रुपमा सन् १९७२ मा स्थापना भएको थियो। पोदरेजले ४८ वर्षको अवधिमा थुप्रै सामाजिक कर्म गरिसकेको छ। यस अवधिमा उद्योगले नेपाल शाही संगठन नामक संस्थामार्फत देशका विभिन्न ठाउँमा विद्यालय बनाउन र खानेपानीको व्यवस्थापन गर्न सहयोग गर्दै आएको छ।
पोदरेजले पहिला दराज लगायतका घरायसी सामग्री उत्पादन गर्ने गरेको थियो। हाल अफिसियल, हेभी सेक्युरिटी इक्वीपमेन्ट जस्तै क लकर, फायर प्रुभ सेभ, फायर प्रुफ फायलिङ क्याविनेट लगायत र सिटिङ सिस्टमका सामग्रीहरु उत्पादन तथा विक्रि वितरण गर्दै आएको प्रबन्ध निर्देशक गौतमले जानकारी दिए।
पेदरेजको विक्रि केन्द्र काठमाडौं उपत्यकामा ८ वटा र विराटनगर साथै पोखरामा पनि यसको ब्रान्च रहेको गौतमले बताए। त्यस्तै उनले चितवन नारायणगढमा पनि छिटै केन्द्र सञ्चालनमा आउने जानकारी दिए।
