कास्कीको अन्नपूर्ण गाउँपालिकामा यज्ञराज पौडेलको संयोजकत्वमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन भएको छ। बुधबार गठित सञ्जालका सहसंयोजकमा निर्मला अधिकारी र सदस्य सचिवमा बाबुराम भण्डारी रहेका छन्।
त्यस्तै, सदस्यमा छविराज पौडेल, टङ्कराज पौडेल, सुन्दर सुवेदी, अनुप पौडेल र मधु सुवेदी रहेका छन्। नवगठित सञ्जालका पदाधिकारीलाई शुभकामना दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले सूचना सञ्जालले स्थानीय तहलाई अझ मजबुज बनाउने विश्वास व्यक्त गरे।
गाउँपालिकाका सूचना अधिकारी बलराम भुगाईँले सूचना माग्नु नागरिकको अधिकार भएको जनाउँदै निर्धक्कताका साथ आवश्यक सूचना मागेमा सदैव सही सूचना दिन गाउँपालिका तयार रहेको उल्लेख गरे।
राष्ट्रिय सूचना सञ्जाल गण्डकी प्रदेशका संयोजक दीपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ बञ्जारा, पोखरा महानगर सञ्जालका सदस्य पदम श्रेष्ठलगायतले संविधानप्रदत्त सूचनाको हकको उपयोगका लागि प्रत्येक सर्वसाधारण जागरुक बन्नुपर्ने धारणा राखे।