चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पार्नुभएको छ। वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो। नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको उनकोे जिकिर छ।
चराका बारेमा पुस्तक लेख्दै आउनुभएका डा हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन्। ‘मैले यही मङ्सिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवाजस्ता चरा देखेँ’, मेचीनगर–६ निवासी खरेलले रासससँग भने, ‘फोटो खिचेर पक्षी संरक्षण सङ्घ र डा बराललाई पठाएँ, उनले यो पक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको पुष्टि गरे।’
चराहरुको खोजी र संरक्षणमा पाँच वर्षदेखि लागिरहनुभएका उनले झापा, इलाम, सुनसरी, चितवनलगायत स्थानमा डुलेर पक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आएका छन्।
नेपालमा ८८६ प्रजातिका चरा भएको आधिकारिक तथ्याङ्क छ। हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन। अब चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले जिकिर गरे। घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ।
हरित परेवा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ। मेचीनगरका मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जङ्गल क्षेत्रमा ३०० प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उनले ती चरालाई संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए।