महोत्तरीको बर्दिवासकी ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्या प्रकरणको विषयले उग्र रुप लिएको छ।
स्थानीयबासीले बिहानैदेखि प्रदर्शन शुरु गरेका छन्। यसक्रममा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर गरेको छ।
स्थानीयबासीको भीड नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टसहित केही प्रहरी घाइते भएका छन्।
‘डिएसपी साब घाइते हुनुभएको छ, बोल्न सक्ने अवस्थामा हुनुहुन्न, अन्य केही प्रहरी घाइते भएपछि जनशक्ति थपिएको छ,’ जिल्ला प्रहरी कार्यालय श्रोतले भन्यो।
प्रहरीले बल प्रयाेग गर्दा आधा दर्जन जति सर्वसाधारण पनि घाइते भएकाे स्थानीयबासीले बताएका छन्।
दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग राखेर स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन्। स्थानीयबासीले हत्या भएकी बालिकाको शव बाटोमै राखेका छन्।
यसैबीच, प्रहरीले हवाई फायर गरेपछि स्थानीयबासीको प्रदर्शन तितरबितर भएको छ। र, मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको महोत्तरी प्रहरीले जानकारी दिएको छ।
घटनास्थललाई प्रहरीले उच्च सतर्कताका साथ नियन्त्रणमा लिएको छ।