काठमाडौं– नोट तथा मोबाइलमा कोरोना भाइरसका जीवाणु २८ दिनसम्म बाँच्न सक्ने नयाँ तथ्य फेला परेको छ । शोधकर्ताहरुले यसलाई अहिलेनै प्रमाणित मान्न नसकिएपनि तथ्यमा आधारित रहेको बताएका छन् ।
अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले गरेको रिसर्चले कोरोना भाइरसका जीवाणुहरु यसअघि पत्ता लागेको भन्दा लामो समय जिवीत रहने तथ्य पत्ता लगाएको हो ।
यसअघि गरिएको रिसर्चले नोट तथा काँचमा कोरोना भाइरस दुईदेखि ३ दिनसम्म बाँच्ने पत्ता लगाएको थियो । प्लास्टिक तथा स्टिलमा यो भाइरस ६ दिनसम्म बाँच्ने बताइएको थियो ।
तर, पछिल्लो समय सार्वजनिक भएको तथ्यसँग थुप्रै शोधकर्ताहरुले असहमति जनाएका छन् । उनीहरुले भाइरस २८ दिनसम्म बाँच्न भन्ने कुराले मानिसलाई अनावश्यक डर पैदा गराइदिने बताएका छन् ।
कार्डिफ यूनिभर्सिटीका कमन कोल्ड सेन्टरका पूर्वनिर्देशक प्रा. रन एक्सेलले भनेका छन्, ‘यो भाइरस खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने कण र फोहर हातबाट फैलन्छ । यो शोधमा जुन कारण भाइरस फैलिन्छ भनिएको छ त्यसमा नयाँ कुरा उपयोग गरिएको छैन ।’
-बीबीसी