काठमाडौं– नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी कोरोना संक्रमित भएका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
दिसामा रगत देखिएपछि केसीलाई काठमाडौंको बयोधा अस्पताल लगिएको थियो । सो अस्पतालमा उपचार गर्नुअघि उनको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको केसीका जेठा छोरा योगेन्द्र केसीले जानकारी दिए । केसीको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको टेकु अस्पतालले सोमबार साँझ फोनमा जानकारी गराएको थियो । केसी हाल घरमै आइसोसेलनमा छन् ।
सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियाली एथलेटिक्स च्याम्पियनसिपमा केसीले कास्य पद प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो । केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्ण पदक जितेका भएका थिए ।