काठमाडौं– क्यारेबिन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल भएका छन् । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दीपले एक विकेट लिए ।
जमैका तलावाजबाट खेलिरहेका सन्दीपले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिएका छन् । योसँगै जारी प्रतियोगितामा सन्दीप ४ खेलमा ५ विकेट लिन सफल भएका छन् । ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा टस जितेर सन्दीपको टोली जमैकाले बलिङ रोजेको थियो ।
सन्दीप सहभागी जमैकाको जारी प्रतियोगिताको पाँचौँ खेल भोलि बिहान बार्बाडोस ट्रिडेन्टससँग हुनेछ ।