काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् ।
शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो ।
सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए । उनले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काए ।
नवौँ ओभरमा बलिङ गर्न आउनुभएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिए । त्यसपछि ११औँ ओभरमा उनले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए ।
सो ओभरमा उनले विपक्षी टोलीलाई मात्र एक रन दिए । यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिए ।
खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका उनले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे ।
उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिए । टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो ।
एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो ।
गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाए ।
बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन/तीन तथा आन्द्रे रसेलले एक विकेट लिए । विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए । रासस