एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा स्पेनिस क्लब एटलेटिको म्याड्रिड पराजित भएको छ ।
जर्मन क्लब आरबी लाइप्जिगले एटलेटिकोलाई २–१ गोलले हराएको हो । यो सँगै लिगबाट एटलेटिको बाहिरिएको छ भने लाइप्जिग पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा लाइप्जिगले सुरुमा अग्रता लियो । ड्यानी ओल्माले ५० औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा ७० औं मिनेटमा जोआओ फेलिक्सले एटलेटिकोलाई खेलमा बराबरीमा ल्याए ।
लाइप्जिगका खेलाडी लुकास कोल्स्टरम्यानले जोआओ फेलिक्सलाई लडाएपछि एटलेटिको पेनाल्टी पायो ।
जोआओले उक्त पेनाल्टीलाई सदुपयोग गरेका हुन् । तर एटलेटिकोले उक्त बराबरी धेरै बेरसम्म रोक्न सकेन ।
लाइप्जिगका टाइलर एडम्सले खेलको ८८ औं मिनेटमा गोल गर्दै क्लबलाई अघि बढाए ।
त्यसपछिको समयमा एटलेटिकोले थप कुनै गोल गर्न नसक्दा उसले हार बेहोर्यो । लाइप्जिगले अब सेमिफाइनलमा फ्रान्सेली क्लब पीएसजीसँग भिड्ने छ ।