काठमाडौं– अहिले सार्वजनिक सवारी साधनमा एक सिट बराबर एक यात्रु राख्न सरकारले निर्देशन दिएको छ । स्वास्थ्य सुरक्षाका लागि भनेर बनाइएको यो मापदण्ड सबै सार्वजनिक सवारी साधनले अपनाएका छैनन् । सामान्य सुरक्षा मापदण्ड पनि नअपनाएका कारण थुप्रै सवारी चालक कारवाहीमा परेका छन् ।
काठमाडौं बाहिर पनि सवारी कारबाहीमा परेका छन् । बुधबार चन्द्रनिगाहापुरबाट काठमाडौं आउँदै गरेको बा.१५ च ८९७१ नम्बरको मारुती भ्यान मकवानपुरको भिमफेदीमा रोकियो । गाडी चेकजाँचका लागि प्रहरीले रोकेको थियो ।
भ्यानमा सुरक्षा मापदण्ड विपरित यात्रु चढाएको भेटेपछि भ्यान चालक राम गणेश शाहलाई प्रहरीले सम्झाउन खोज्यो । तर, रामगाणेशले प्रहरीलाई पैसाको प्रलोभन देखाए । बारम्बार सम्झाउन खोज्दा पनि प्रहरीसामु गल्ती स्विकार्नुको साटो पैसामा कुरा मिलाउन दबाव दिएपछि भ्यान चालकलाई प्रहरीले पक्राउ गर्यो ।
पक्राउ परेका शाहलाई सार्वजनिक हित र नैतिकता विरुद्ध कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।