काठमाडौं– मंगलबार बिहानै काठमाडौं दरबारमार्ग प्रहरी वृत्तबाट प्रहरी टोली भ्यानमा बाहिर निस्कियो । प्रहरी अघिल्तिरैबाट बा १६ च ५५१९ नम्बरको स्कारपियो हुत्तिँदै गयो । स्करपियाेकाे हुत्याई शंकास्पद थियाे । प्रहरीले स्कारपियो रोक्न खोज्यो । स्कारपियाेकाे गति बढ्यो ।
यसपछि प्रहरीले स्कारपियोकाे पिछा गर्याे । स्कारपियाेमा सवार एक व्यक्तिले झोला बाहिर फाले । केही प्रहरी झोला जाँच गर्न थाले, केही प्रहरीले स्कारपियोकाे पिछा गरिरहे । तर, प्रहरीले गाडीलाई भेट्टाउन सकेन ।
यता, फालिएको झोलामा भने १५ किलो सुन जस्तो पँहेलो धातु फेला प¥यो । साथमा २ थान चाइनीज पेस्तोल समेत बरामद भयो ।
अवैध रुपमा भित्राउँदै गरेको सुन, प्रहरीले पच्छाएपछि अलमलाउनका लागि फालेको अनुमान प्रहरी अनुमान छ ।
भेटिएको सबै पहेलो धातु सुन भएको खण्डमा यसको मूल्य १२ करोड पर्ने हिसाव निकालियो । तत्काल प्रहरीले सुन परीक्षणका लागि प्रयोगशाला पठायो । १५ किलो पहेलो धातुबाट परिक्षणपछि जम्मा ५ सय ग्राम मात्रै सक्कली सुन देखायो ।
अहिले गाडीमा भागेका व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिको पहिचान भैसकेको समेत प्रहरीले दावी गरेको छ ।
अपडेट: प्रहरीले पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गर्दै भेटिएको १५ किलो धातुमा आधा किलो मात्र सुन रहेको बताएको छ । बाँकी पित्तलको जलप लगाएको चाँदी रहेको जनाएको छ ।