काठमाडौं– सरकारसँग १२ बुँदे सहमति गरेको ‘इनफ इज इनफ’ अभियानले अर्थमन्त्री र सचिवविरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका छन् । कोभिड-१९ को महामारीबाट नागरिकहरूलाई जोगाउन गरिएको भनिएको खर्चमाथि कुनै अनुगमन नभएको भन्दै उजुरी दर्ता गरेको हो ।
आइतबार ५० जना अभियन्ताले उजुरी दर्ता गर्दै भ्रष्टाचारलाई प्रोत्साहन दिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले निजहरू माथि अनुसन्धान गरी कारवाही गर्न आग्रह गरेका हुन् ।
त्यस्तै इनफ इज इनफले अर्थ मन्त्रालयमा गत आर्थिक वर्षमा कोभिड १९ को रोकथामका लागि भएको वास्तविक खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन दर्ता पनि गराएका छन् ।
इनफ इज इनफका अभियन्ताहरूसँग सरकारले १२ बुँदे सम्झौता गरेर पनि माग पूरा नगरेकोमा असहमति स्वरुप अभियन्ता ई:, समाइरा श्रेष्ठ र करण गुरुङले वसन्तपुर दरबार क्षेत्रमा सत्याग्रह जारी राखेका छन् ।