कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरा आफ्नै कार्यकक्षमा कुटिएका छन् । आईतबार नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो ।
वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ । आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी र पिठ्युमा चोट लागेको छ । महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०/१२ जनाको समूहले एकाएक आक्रमण गरेको जानकारी दिए ।
शनिबार राती सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समुहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झाएर पठाएका थिए । वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट निस्कने वडाध्यक्षलाई ठिक पार्नुपर्छ भनेर हिँडका थिए, चौधरीले बताए ।
मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानिय बासिन्दाले बताएका छन् । वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानिय बासिन्दाको भनाइ छ ।
यसैबीच, नगर कार्यपालिकाले प्रेस विज्ञप्ती जारी गरी वडा कार्यालयमा केही उछृङखल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्ष माथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
-रासस