काठमाडौं– कोरोना कहरका कारण झण्डै ३ महिना सार्वजनिक यातायात बन्द भए । ३ महिनापछि सरकारले सार्वजनिक सवारी साधन केहि सर्त सहित खोल्न भन्यो । तर, यातायात व्यवसायिले ५० प्रतिशत बढी भाडा उठाउन पाउनु पर्ने माग राख्यो ।
नेपाल सरकारले व्यसायीको माग सुनुवाइ गर्दै एक सिटमा एक यात्रु राखेर सवारी साधन सञ्चालन गर्न भन्यो । बन्द भएको ३ महिनापछि काठमाडौंका बाटोमा सवारी साधन चल्न थालेका ।
लकडाउन खुलेसँगै सार्वजनिक यातायातमा यात्रुको चाप बढ्दो छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सार्वजनिक यातायातमा लागू गरेको नियम विपरित यात्रुले यात्रा गरिरहेका छन् । सरकारले लगाएको नियम यातायात व्यवसायीलाई बढी भाडा असुल्ने बहाना मात्रै भएको यात्रुहरुले गुनासो गरेका छन् ।
सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना गरेका छैनन् । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको यात्रुहरुको गुनासो छ । यात्रु चढेर ओर्लेपछि छोटो दूरीमा पनि न्यूनतम् २५ रुपैयाँ भाडा लिएर पनि पनि सिट क्षमताभन्दा धेरै यात्रु ओसारेको उनीहरुको गुनासो छ ।
सरकारले सिट क्षमताको आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडा उठाउन भनेको छ । सरकारको निर्णयका बारेमा सम्झाउन खोज्दा परिचालकहरुले ‘चढ्नेलाई नआऊ भन्न मिल्दैन’ भनेर ओठे जवाफ लगाउने गरेका छन् । काठमाडौंका विभिन्न स्थानमा चल्ने नेपाल यातायात, कान्तिपुर यातायात, विभिन्न स्थानमा चल्ने माइक्रो र सफा टेम्पोमा पनि सिटभर यात्रु देखिन थालेका छन् ।
अनुगमनको जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता बामदेव गौतमले जनशक्ति अभावका कारण सबैतिर आवश्यकता अनुसार अनुगमन गर्न नसकिएको स्वीकार गरेका छन् । उपत्यकामा पोशाक एवं सादा पोशाकमा समेत गरी २९ टोली सार्वजनिक यातायात अनुगमनकै लागि खटाइएको उनको भनाई छ ।