काठमाडौं– नेपाल प्रवेश गरेको सलहको विखण्डित झुन्ड उत्तरी दिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । चिसोका कारण बालीनाली नाश गर्ने शक्ति कमजोर हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पहिले आएका झुन्ड मुस्ताङ, म्याग्दी, बाग्लुङ र जाजरकोटतिर फाट्टाफुट्ट देखिएको छ ।
‘मुस्ताङमा पुगेको सलह रुखमा पनि राम्ररी बस्न नसक्ने अवस्थामा पुगेको छ, फेदमा बल्लबल्ल बसिरहेको छ, कमजोर हुँदै गएको छ, चिसोले राम्ररी खान सकेको छैन, भएका पनि लेकतर्फ गइरहेको छ,’ सुवेदीले भने, ‘जति लेक जान्छ, त्यति मर्दै र कमजोर बन्दै जाने हो ।’
नेपालमा असार १३ गते रौतहटबाट सलह प्रवेश गरेको थियो । असार १६ गतेसम्म विभिन्न जिल्लामा प्रवेश गरेर केही क्षति पु¥याएको थियो । असार २८ मा दाङलगायत केही जिल्लाबाट नेपाल आएको थियो । साउन १ गते नेपालगञ्ज र महेन्द्रनगरबाट छिरेको थियो । त्यसपछि नयाँ झुन्ड आएको छैन ।
भारतबाट सलहका झुन्ड आउन सक्ने सम्भावना भने कायमै रहेको सुवेदीको भनाइ छ ।