काठमाडौँ - नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ ।
सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।
सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्नेहुन्छ तर सरकारले कोरोनाको कारण आगामी भदौ १ गतेदेखि मात्र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ ।
सरकारको उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो । एक साताभित्र सन्दीप टोबागो पुग्न नसके उनले सिपिएल गुमाउनुपर्ने अवस्था आउनेछ । किनकि उता पुगिसके पछि पनि उनी १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।
सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । यस वर्षको सिपिएलका लागि सन्दीपका १ लाख ३० हजार डलर दिने सम्झौता भएको छ । - रासस