काठमाडौं– काठमाडौं चुनदेवीका शक्तिराज रेग्मी गत असार २४ गते बेपत्ता भए । उनी बिहान ६ बजे घरबाट निस्किएका थिए । ३० वर्षीय रेग्मी हराएको उजुरी काठमाडौं प्रहरीमा पर्याे । साउन २ गते दर्ता गरिएको उजुरीमा उनी अपहरणमा परेको बेहोरा उल्लेख गरिएको थियो ।
उजुरीपश्चात रेग्मीको खोजीमा निस्किएको प्रहरीले उनलाई साउन ६ गते फेला पार्याे । साँझ ७ बजे नयाँ बसपार्कस्थित सुगन्ध होटलबाट एक युवतीका साथमा भेटिएका रेग्मीले आफैं अपहरणको नाटक गरेको रहस्य खुलेको छ ।
रेग्मीले विभिन्न व्यक्तिबाट जग्गाको कारोबार गर्छु भन्दै करोडौं रुपैयाँ लिएका थिए । सोही रकम तिर्न नपरोस् भनेर अपहरणको नाटक गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
आफैं अपहरणमा परेको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको तथा राज्यको स्रोत साधनको दुरुपयोग गरेको अभियोगमा रेग्मीलाई कारबाहीका लागि सम्बन्धित कार्यालयमा चलान गरिएको प्रहरीले जनाएको छ ।