काठमाडौं– सलहको झुन्ड आज पनि पश्चिम नेपालका विभिन्न जिल्लाबाट प्रवेश गरेको छ ।
कृषि मन्त्रालयको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार भारतको पश्चिम क्षेत्रमा रहेको सलहको केही झुन्ड हावाले उडाएर नेपाल छिरेको हो ।
केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले आज बिहान नेपालगन्ज र बाँकेबाट चारदेखि पाँच लाखको सलहको झुन्ड नेपाल छिरेको बताए । यस्तै, आजै कञ्चनपुरबाट समेत केही झुन्ड प्रवेश गरेको छ । असार २८ गते दाङबाट प्रवेश गरेको झुन्ढले प्यूठानमा केही क्षति गरी तल्लो क्षेत्रमा गएको छ ।
मौसम विज्ञान विभागका अनुसार हावाको दिशा यही साउन २ गते दक्षिण पूर्वी र पूर्वबाट आउनेछ । त्यस्तै ३ गते पनि सोही दिशाबाट हावा आउनेछ । हावाको दिशा नेपालमा उत्तर–पश्चिम भएर जाने भएकाले पश्चिम क्षेत्रमा रहेको सलह प्रवेश गर्ने सम्भावना कम रहेको जनाइएको छ ।
यद्यपि, भारतको पश्चिमी सिमानामा रहेको झुन्डबाट फुटेर केही विखण्डित समूह आउनसक्ने सम्भावना भने कायमै छ । सलहको झुन्ड पनि अहिले पश्चिम क्षेत्रमा छ । जमिनको सतहभन्दा १ हजार मिटरमाथि र समुन्द्र सतहभन्दा १ हजार ५०० मिटरमाथिबाट हावा बहने जनाएको छ ।
गत असार १३ गते नेपाल प्रवेश गरेको सलहले विभिन्न क्षेत्रमा लगाएको बालीमा केही क्षति पु¥याएको छ । त्यो बेला सबैभन्दा बढी ८० देखि ९० लाख सलह प्रवेश गरेको अनुमान छ । किसानको सक्रियता र मौसम प्रतिकूल हुँदा ठूलो क्षति पु¥याउन भने नसकेको कीटविज्ञले बताएका छन् । अहिले पनि ठाउँठाउमा सलहले आफ्नो उपस्थिति देखाइरहेको छ । धेरै सलह जंगलमा बसेको छ ।