डोटी– सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार २९२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म पिसीआर विधिबाट तीन हजार ७९७ तथा आरडिटी विधिबाट १८ हजार ७५४ जनाको परीक्षण गरिएको छ। प्रदेशका नौ वटै जिल्लामा गरी कूल तीन हजार १५० आरडिटी किट र ८११ भिटएम–भाइरल ट्रान्सपोर्ट मिडियम मौज्दात रहेको जनाइएको छ।
आइतबारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी एक हजार ४०१ पुरुष र १५८ महिला गरी एक हजार ५५९ जना क्वारेन्टाइनमा राखिएका छन्। डोटी जिल्ला अस्पतालमा एक, सेती प्रादेशिक अस्पताल कैलालीमा चार, बझाङ जिल्ला अस्पतालमा आठ, बैतडी जिल्ला अस्पतालमा एक र बाजुरा जिल्ला अस्पतालमा तीन गरी १७ नागरिक आइसोलेसनमा भर्ना भएका छन्।
सुदूरपश्चिम प्रदेशमा हाल कुनै पनि व्यक्ति कोरोना सङ्क्रमित नभएको मन्त्रालयले जनाएको छ। यसअघि प्रदेशभित्र देखिएका ५ सङ्क्रमित निको भएर घर गइसकेका छन्। यस्तै आइसोलेसनमा राखी सामान्य उपचारपछि १४७ जना घर फर्किसकेका छन्। रासस