काठमाडौं– सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २ सय ७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ। सांसद तथा कर्मचारीमा कोभिड–१९ नभएको निर्क्याैल गर्न बिहीबार प्रतिनिधिसभाका १ सय ७९ राष्ट्रियसभाका ३३ गरी २ सय १२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको थियो।
आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना सङ्कलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन्। सङ्घीय संसद्को छैटौँ अधिवेशन आज अपराह्न ४ बजे बस्दैछ।
कोभिड–१९को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमूना लिन अझै बाँकी रहेको छ। प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५८ सांसद छन्। रासस