बाँके– किसानले लगाएको वसन्ते मकैमा फौजी कीराको प्रकोप देखिएको छ। डुडुवा गाउँपालिका वडा नं ६ हिरमिनियाका किसानले लगाएको वसन्ते मकैमा लागेको फौजी कीराले १०० भन्दा बढी बिघाको मकै नष्ट पारेको छ।
कोभिड–१९ को संक्रमणबाट जोगिन आह्वान गरिएको बन्दाबन्दीका कारण औषधि अभाव भएपछि मकै नष्ट भएको हो। किसान जयपाल मौर्यले पाक्ने बेलाको मकैले बजार नपाउने चिन्ताभन्दा पनि बोटमा लागेको अमेरिकी फौजी कीराले बाली नै सखाप पार्दा लागत नै नउठ्ने चिन्ताले सताएको बताएका छन्।
हिरमिनियाकै श्यामलाल मौर्यले बन्दाबन्दीका कारण घोगा लाग्ने बेलाको मकैबालीमा प्रकोपको रुपमा फौजी कीरा फैलिएपछि जोगिने उपायबारे कृषिविज्ञलाई जानकारी गराउन नपाइएको गुनासो गरेका छन्। धान खेतमा पनि हिरमिनियालगायत बाँके बर्दियामा अमेरिकी फौजी कीराको प्रकोप फैलिएको थियो। सोही समस्या अहिले मकैमा देखिएको छ।
बन्दाबन्दीकै कारण किसानले कृषिज्ञान केन्द्रसम्म पुगेर आफ्नो समस्या राख्न नसकेको र आवश्यक विषादी पनि नपाइएको किसानको गुनासो छ। ‘बन्दाबन्दीका कारण हाम्रो लगानी खेर जाने निश्चित छ, यसका लागि कृषिज्ञान केन्द्रले तत्कालै पहल गरिदिए हुन्थ्यो ‘, किसान भन्छन्।
कृषिज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालका अनुसार बाँकेमा दुई हजार ४५० हेक्टर र बर्दियामा तीन हजार ९०० हेक्टर जमीनमा वसन्ते मकै खेती गरिएकामा करीब ७० प्रतिशत खेतीमा कीराको प्रकोप देखिएको छ। बन्दाबन्दीका कारण किसानलाई सिफारिस गरिएको विषादी नपाइएको र वैकल्पिक विषादीले काम नगरेका कारण फौजी कीराको प्रकोप रोक्न कठिन भएको उनले बताए। रासस