एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६० दिनसम्मका लागि ग्रिनकार्ड प्रतिबन्धित रहने घोषणा गरेका छन्।
ग्रीनकार्डमाथिको प्रतिबन्ध लगाउनुको कारण स्पष्ट पार्दै उनले भने, ‘सुरुमा अमेरिकी कामदारलाई ध्यानमा राख्नुपर्छ।’ उनले यससम्बन्धी निर्णयमा बुधबार हस्ताक्षर गर्ने र कोरोना भाइरसले अर्थतन्त्रलाई पारेको असरका आधारमा यो प्रतिबन्ध जारी रहने बताएका छन्। कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पको भनाइ छ।
अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागू हुने छैन। ट्रम्पले कोरोनाका कारण २२ मिलियन अमेरिकीको रोजगार गुमेकोमा चिन्ता व्यक्त गरे।
ह्वाइट हाउसको नियमित कोरोना भाइरस ब्रिफ्रिङमा ट्रम्पले यो निर्णयपछि अर्थव्यवस्था कसरी गरिरहेको छ बुझेर, त्यही अनुसार प्रतिबन्ध थप बढाउन पनि सकिने जानकारी दिएका छन्।