राजविराज– बन्दाबन्दीका बेला पनि समूहगतरुपमा काम गरेपछि स्थानीयस्तरमा उत्पादित हरियो सागसब्जीको आपूर्ति व्यवस्था सहज भएको छ। राजविराजसहित स्थानीयवासीले भोग्दै आएको समस्यालाई ध्यान दिइ सप्तरीको दक्षिण भेगका करिब १५० कृषकले सहजताका लागि स्थानियस्तरमा उत्पादन गरेको तरकारीहरु गाउँगाउँ तथा सहरबजार सम्म बिक्री गर्न थालेका छन्।
सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोगमा सञ्चालित समुन्तीअन्तर्गतको जिविकोपार्जन कार्यक्रमबाट जिल्लाको दक्षिणी भेगको तिलाठी कोइलाडी, छिन्नमस्ता र विष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका १४ का अति विपन्न परिवारका महिला सदस्यहरुले कृषक समूह बनाइ आपूर्ति व्यवस्थालाई सहज बनाएको कृषि प्राविधिक रामकुमार साहले बताएका छन्।
महिलाहरुले आफैले लगाएको तरकारीबारीबाट राम्रो आम्दानी आउन थालेपछि उनीहरु खुशी भएका छन्। बजरंगबली कृषक समूह तिलाठी कोइलाडी ५की पानो देवी रजकले तरकारी खेती गर्ने सपनालाई साकार पार्न सहयोग मिलेको बताएका छन्। रासस