बनेपा– पनौती–बनेपा–काठमाडौँ चल्ने बसका सहचालक प्रकाश थामीले बन्दाबन्दीपछि अहिलेसम्म अरुले जुटाइएको सामूहिक व्यवस्थामा खाना खाँदै आएका छन्। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का थामी होटलमा नै खाने र गाडीमा सुत्ने गरेर जीवन धान्दै आएकामा बन्दाबन्दीमा होटलहरु बन्द भएपछि तीनचार दिनसम्म पानी र चिउरा मात्रै खाएर बसेका थिए।
काभ्रेपलाञ्चोकको पनौतीमा रहेको पनौती युवा मञ्चले बन्दाबन्दीका कारण खाना खान नपाएर भोकै भएका रिक्सा चालक, गाडी मजदुर र सडक बालबालिकाका लागि खाना ख्वाउने व्यवस्था गरेपछि सो सामूहिक मेस मिलेको हो। काम खोज्न घरबाट निस्किएका उनी पहिला धुलिखेल–काठमाडौंको बसमा डेढ वर्षजति काम गरेर अहिले पनौती काठमाडौंको गाडीमा काम थालेका छन्। ‘काम हुने बेलामा त दिनको आठ सयसम्म कमाउँछ, त्यसबाट खाने र बचेको घरमा पठाउने गर्दै आएको थिएँ।’ उनले भने, ‘कोरोनाको कारण काम नहुँदा यसरी खानाको व्यवस्था भएर राम्रो भएको छ।’
सोही रुटका सहचालकको काम गर्दै आएका खानीखोला गाउँपालिका वडा नं. २ फलामेटारका अर्का मजदुर कुमार तामाङले पनि त्यहीँ सामूहिक रुपमा खाना खाएर गाडीको सुरक्षा गर्दै आएको बताएका छन्। उनी पनि बिना कोठा गाडीमा नै सुत्ने र होटलमा खाना खाएर जीवन गुजारा गर्दै आएका थिए। काम गरेवापत् साहुले खानाबाहके अरु सुविधा नदिएको बताउँने उनको सीप सिकेर चालक बन्ने धोको छ।
पनौती बजारमा नै अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएका तारा लामाले पनि सोही ठाउँमा खाना खाने र चार महिनाको काखे बालकसहित अर्का एक छोरीलाई त्यही खाना ख्वाएर जीवन धान्दै आएका छन्। दैनिक अर्काको काम गरेर हातमुख जोड्ने काम गर्दै आएकामा बन्दका कारण त्यो पनि गुमेपछि अरुले बाँडिदिएको ठाउँमा गएर पेट भर्ने गर्दै आएको बताएका छन्।
पनौती बजारमा रिक्सा चलाएर जीविकोपार्जन गर्दे आएका ललितपुरको भट्टेडाँडाका जयराम दुलालको पनि खाना त्यही समूहमा हुँदै आएकोे छ। तीन चार वर्षदेखि पनौतीमा रिक्सा चलाउने काम गर्दै आएका उनले स्थानीय युवाहरुले सबैलाई खाना ख्वाउन थालेपछि खान पाइएको बताएका छन्।
मञ्चका अध्यक्ष सौगात बस्नेतले लकडाउनका कारण धेरैले खाना नै नपाउने अवस्था देखेपछि नगरपालिका प्रमुख भीम न्यौपाने र पनौतीको प्रहरीसँग अनुमति लिएर खाना ख्वाउने काम शुरु गरेको बताएका छन्। यहाँ दैनिक ४५ जना सम्मलाई दिनको दुई पटक खाना ख्वाइएको छखानाका लागि स्थानीय जिटी रेष्टुरेण्टका सञ्चालक सञ्जय सिं ठकुरीले सहयोग गरिरहेका छन्। त्यससँगै बाटोमा हिँड्ने यात्रुहरुलाई पनि खाना ख्वाउने व्यवस्था गरिरहेको छ। त्यसरी सहयोग गर्नेमा ५ जना देखि १० जना मञ्चका सदस्यहरुले स्वंयसेवकको रुपका काम गरिरहेका छन्। रासस