लमजुङ– बेँसीशहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ।कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको छ।
घरमा आमा र बहिनी बिरामी छन् भन्दै चितवनबाट साइकलमा बेंसीशहर आइपुगेका नगरपालिका ६ पुमागाउँका १८ वर्षीय मिजार क्वारेन्टाइनबाट सम्पर्कविहीन भएपछि खोजिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताएका छन्। बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगल भागेपछि हालसम्म नभेटिएको उनले जानकारी दिएका छन्।
उक्त क्वारेन्टाइनमा नौ जना छन्। त्यहाँ सशस्त्र र नेपाल प्रहरीका दुईदुई प्रहरी सुरक्षामा खटिएका छन्। उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन्। उनकी आमा र बहिनीको हात भाँचिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताएका छन्। मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरी फरार भएका थिए। घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि तयार रहेको वडाध्यक्ष रिमालको भनाइ छ। रासस