नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ। विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए।
उनले लकडाउनका कारण घर जान नपाएका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अहिले खानाका लागि समस्या परेकाले खाद्यान्न वितरण गरिएको बताएका छन्। अहिलेको अवस्थामा सबभन्दा बढी विद्यार्थीलाई समस्या परेको छ उनले भने, त्यसैले विद्यार्थीको कोठा नजिक पुगेर खाद्यान्न पु¥यारहेका छौँ। अनेरास्ववियुले काठमाडौँको कीर्तिपुरमा बसोबास गर्ने ५०० विद्यार्थीलाई राहत सामग्री वितरण गरेको थियो।
अनेरास्ववियूका केन्द्रीय सदस्य नारायण घर्तीका अनुसार आज अनेरास्ववियुले कोटेश्वर, भक्तपुर, नयाँबानेश्वर, मैतीदेवी, कलङ्की, कालिमाटी, चाबहिल, कपनलगायतका १२ स्थानमा करिब ७०० विद्यार्थीलाई खाद्यान्न वितरण गर्दैछ। उनले शिखर बहुउद्देश्य सहकारी संस्था, जेनी समूहसँग सहयोग मागेर विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको बताएका छन्। (रासस)