काठमाडौं- आरफ फार्मेसीले आज प्रेस सङ्गठन नेपाल, काठमाडौँ शाखालाई ५० सेट प्रेस ज्याकेटसहित सुरक्षा सामग्री सहयोग गरेको छ।
वीर अस्पताल अगाडिको सो फार्मेसीका सञ्चालक ठाकुर पोखरेलले ज्याकेटसहित ५०० थान मास्क र ५० थान स्यानेटाइजर सङ्गठनको काठमाडौँका शाखाका संयोजक सागर पन्तलाई आज हस्तन्तरण गरे।
कोरोना भाइरसबाट बचाउन मुलुकमा लकडाउन जारी भएका बेला नियमित समाचार सङ्कलन, प्रस्तुति र सम्पादनमा कार्यरत सञ्चारकर्मीका लागि व्यवसायी पोखरेलले सो सामग्री हस्तान्तरण गरेको हो।
संयोजक पन्तले आवश्यकताका आधारमा सञ्चारकर्मीलाई उक्त सामग्री उपलब्ध गराउन थालिएको जानकारी दिए। यसअघि सो सङ्गठनको ललितपुर शाखाले पनि सञ्चारकर्मीका लागि प्रेस ज्याकेट वितरण गरेको थियो। (रासस)