जुम्ला- विश्वभर फैलिँदो कोरोना भाइरस फैलन नदिन गरिएको लकडाउन (बन्दाबन्दी)का कारण यतिबेला देशभरीका शैक्षिक संस्था बन्द छन्। माध्यमिक शिक्षा परीक्षा (एसइई)को अन्तिम तयारी भएको अवस्थामा यही चैत ५ गते सरकारले स्थगन ग¥यो।
लकडाउन समयावधि लम्बिँदै गएपछि रेडियो खुला आकाश ९९ दशमलव ६ मेगाहर्ज जुम्लाले २६ चैतदेखि सुनापढी नामक रेडियो अडियो कक्षा शुरु गरेको छ। एसइई परीक्षा पर्खाइमा रहेका विद्यार्थी र आधारभूत तहका बालबालिकालाई लक्षित गरी रेडियो अडियो कक्षा शुरु गरिएको हो।
एसइई विषेश रेडियो कक्षामा अङ्ग्रेजी, गणीत, विज्ञान, नेपाली र सामाजिक विषय समेटिएको रेडियो प्रबन्धक रतन नेपालीले बताएका छन्। ‘बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हरेक दिन कक्षा सञ्चालन गर्ने योजना बनाइएको छ’, उनले भने।
रेडियो अडियो कक्षालाई सामाजिक सञ्जाल (फेसबुक)मार्फत अनलाइन पनि गर्ने गरेको छ। विषयगत शिक्षकलाई रेडियोमा ल्याएर रेडियो अडियो कक्षा सञ्चालन गरिएको हो। बेलुका ५ देखि ६ बजेसम्म प्रावि तहका बालबालिकालाई लक्षित गरी रेडियो अडियो कक्षा शुरु भएको हो।
लकडाउनका कारण प्रभावित भएका शैक्षिक वातावरणमा रेडियो कक्षाले ठूलो राहत मिलेको विद्यार्थी विशाल थापाले बताएका छन्। चन्दननाथ नगरपालिका–८ का भक्त धरलाले रेडियो कक्षा अर्को विद्यालय बनेर आएको बताए।
लकलाडउनले शैक्षिक संस्था बन्द हुँदा पठनपाठन प्रभावित भएका बालबालिकालाई सहज भएको उनको भनाइ छ। घर रेडियो खोलेर बालबालिकालाई पठनपाठन गर्ने वातावरण मिलेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनको नीति अपनाएपछि विद्यार्थीलाई पुनःर्ताजगी गराउन अनलाइन कक्षाको शुरुआत गरेको जनाएको छ।
‘लकडाउन अवधिसम्म विद्यार्थीले पढेको भुल्ने, घरमै बस्दा दिक्क मान्ने समस्या थियो’, उनले भने, ‘नियमित पढाइदेखि परीक्षाको तयारी गर्नलाई यसले सहज बनाएको छ।’ विद्यार्थी क्रमशः रेडियो सुन्ने सङ्ख्यामा वृद्धि हुँदै गएको रेडियो खुला आकाश जुम्लाले जनाएको छ। (रासस)