नागार्जुन- नागार्जुन नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ। कोरोना भाइरस (कोभिड–१९¬) को सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपािलकाले ८९ जनाको नामावली सङ्कलन रहेको हो।
ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता थुमराज केसीले बताएका छन्। कसैलाई पनि कोरोना भाइरस रोगको लक्षण नदेखिएको नगरपालिकाले जनाएको छ। नागार्जुन नगरपालिकाका वडा नं ८ मा रहेको भिमढुङ्गा स्वास्थचौकीमा ९ बेडको आइसोलेसन निर्माण भएको छ।
यसका साथै स्वास्थ्यकर्मीको जीवरक्षाका लागि सुरक्षा सामग्री पिपिईलगायत आवश्यक औषधीहरु प्रत्येक स्वास्थ्य संस्थाहरुमा वितरण गरिएको बताइएको छ। नगपालिकाभित्रका अनाथ, असाहय गरीब र मजुदरका लागि राहत वितरण मापदण्ड तयार गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९¬) को सङ्क्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण सबैभन्दा बढी दैनिक मजदुरी गरी खाने नागरिक अप्ठ्यारोमा पर्दै आएका छन्। नगरपालिकाले बनाएको मापदण्ड अनुसार तीन जनाको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पाकेट नून, खाने तेल दुई लिटर, चिनी एक केजी, साबुन दुई पिस रहेको छ।
राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या,आफूले गर्दै आएको काम, घरबेटीको नाम र घरबेटीको नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने हुन्छ। (रासस)