काभ्रेपलाञ्चोक- कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि हाल काभ्रेपलाञ्चोकका स्थानीय तहले आफ्ना क्षेत्रमा कीटनाशक औषधि (डिसइन्फेक्सन–स्प्रे) छर्किन थालेका छन्। रोशी गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण कम गराउन आफ्नो सबै क्षेत्रमा कीटनाशक औषधि छर्किने अभियान शुरु गरेको छ।
हाल पनि बिपी राजमार्ग भएर आवतजावत गरिरहेकाले कीटनाशक औषधि छर्न थालिएको अध्यक्ष दलबहादुर मोक्तानले बताएका छन्। उनले भने, ‘शुरुमा मानिसको बढी आवतजावत तथा चहलपहल हुने स्थानमा औषधि छर्नेछौँ, यो अभियान गाउँपालिकाभरि नै सञ्चालन गर्नेछौँ।’
उनका अनुसार लकडाउनपछि उपत्यकाबाट हिँडेर आएका पैदलयात्रीलाई गाउँपालिकाको समन्वयमा सीमापार गर्ने व्यवस्था मिलाइएको थियो। मण्डनदेउपुर नगरपालिकाले पनि मानिसको चहलपहल बढी हुने स्थानमा सङ्क्रमण नियन्त्रक औषधि छर्न शुरु गरेको छ।
प्रमुख व्यापारिक केन्द्र कुन्ताबेँसीचोकबाट शुरु गरिएको अभियानअन्तर्गत नगरका मानिस चहलपहल बढी हुने सबै स्थान तथा ठूलो बस्तीमा औषधि छर्ने योजना बनाइएको प्रमुख तोकबहादुर वाइवाले बताएका छन्। बनेपा नपाले पनि बिहीबारदेखि आफ्ना क्षेत्रमा कीटनाशक औषधि (डिसइन्फेक्सन–स्प्रे) छर्किन थालेको छ।
नगरको मुख्य बजार बनेपाबाट औषधि छर्न शुरु गरिएका उपप्रमुख रेखा दाहालले बताएका छन्। ‘राजमार्ग तथा आसपासका मुख्य बजारमा पहिला र त्यसपछि बस्तीहरुमा औषधि छरिनेछ’ उनले भने। पाँचखाल नपाले कीटनाशक औषधि छर्ने प्रक्रिया अघि बढाइएको प्रमुख महेश खरेलले बताएका छन्।
‘पहिला सचेत रहन आग्रह ग¥यौँ, अब एक\दुई दिनभित्रै औषधि छर्न शुरु गरिहाल्छौँ’, उनले भने। उनले नपाको निगरानीमा सावधानीपूर्वक कृषकले खेतीपातीको काम जारी राखेको र तरकारी उत्पादन तथा ढुवानीमा कुनै समस्या नभएको बताएका छन्।
नमोबुद्ध नपा, पनौती नपा, तेमाल गाउँपालिकालगायतले स्थानीय बासिन्दालाई सचेत गराउँदै विदेशबाट घर फर्किएकाको विवरण सङ्कलन तथा स्वास्थ्य जाँचपछि अब कीटनाशक औषधि छर्ने प्रक्रिया अघि बढाइएको जनाएका छन्। काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन्। (रासस)