कोहलपुर– प्रदेश नं ५ को नेपाल–भारत सीमा नाका जोडिएको जमुनाह–रुपैडिहा नाकामा विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेशमा रोक लगाइएको छ।
कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमा क्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन्। रुपैडिहा नाकाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका अधिकारीहरू मङ्गलबार मध्याह्न एक्कासि नेपालगञ्ज आएका थिए।
नेपालगञ्ज आइपुगेका भारत बहराइच जिल्लाका डिएम शम्भु कुमार र प्रहरी उपरीक्षक विपीन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतसँग अनौपचारिक छलफल गरी सीमा नाकामा कडाइ गरिने निष्कर्ष निकालेका छन्। हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेको जनाइएको छ।
नेपालगञ्जदेखि १९० किमी टाढा लखनउमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ। नेपालगञ्जदेखि दैनिक उपभोग्य सामान खरिदका लागि रुपैडिहा जाने वा अत्यावश्यक कामका लागि नेपाल आउने प्रत्येक नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओलीका अनुसार नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिने छ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भने, ‘यसअघि नेपालतर्फ राखिएको सहायता कक्षभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जो कोहीलाई लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ, दुवै देशबीच भएको अनौपचारिक छलफलअनुसार भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक/एक गरी कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ। यो विषयमा दुई देशबीच प्रभावकारी समन्वय गरी अघि बढ्ने सहमति भएको छ।’
बैठकपछि प्रजिअ खड्का र प्रहरी उपरीक्षक ओली जमुनाहा नाकामा गई स्वास्थ्य जाँचमा कसैलाई नछुटाउन र सबैलाई अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्न निर्देशन दिएका थिए। बैठकमा नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गर्ने सहमति भएको छ। योसँगै नेपालगञ्ज नाका भएर नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन्।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यसअघि नै नेपालगञ्जका अधिकारीले अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरेका थिए। कोरोनाबाट सुरक्षित हुनपर्ने धारणासहित अनौपचारिक बैठक टुङ्गिएको थियो। रासस