जनकपुर, २९ माघ – नेपालमा करीब तीन लाख अटिज्म (बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता) भएका व्यक्ति भएको अनुमान गरिएको छ।
अटिज्म केयर नेपाल सोसाइटी नामक संस्थाद्वारा आज जनकपुरधाममा आयोजित अटिजम विषयक जनचेतनामूलक पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
विश्वको पछिल्लो तथ्याङ्कअनुसार हरेक ५९ जन्मेको बालबालिकामध्ये एकलाई अटिज्म भएको अनुमान पनि गरिएको छ। चिकित्सकका अनुसार अटिज्म मस्तिष्क विकासको विकार हो, जसले मस्तिष्कको सामान्य कार्यलाई प्रभावित पार्दछ। प्रायजसो जन्मेको तीन वर्षभित्र प्रष्टरूपमा देखिने अटिज्म जीवनभर रहिरहन्छ।
अटिज्म भएका व्यक्तिले साधारण सञ्चार र सामाजिक कठिनाइदेखि लिएर जीवनयापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ। एक्लै बस्ने बानी, वस्तुप्रति अमिल्दो लगाव, आँखामा आँखा नजुधाउने, शब्द र वाक्यांश दोहोर्याउने, अधिक चकचके अथवा अति निष्कृय हुने, हरेक दिन एउटै काम गर्न रुचाउने, परिवर्तन मन नपराउने, बिना कारण रुने, कराउने र चिन्तित हुने, घाउ, चोट तथा दुखाइप्रति वास्ता नगर्ने, कुनै पनि चिज/वस्तु घुमाइ रहने, असान्दर्भिक तरिकाले हाँस्ने, आफूलाई चाहिएका सामान औँलाले नदेखाउने, बोलाउँदा नबोल्ने, नसुनेजस्तो गर्नेलाई अटिज्मको लक्षण मानिएको छ।
उक्त अवसरमा डा. सुनिता अमात्यले यसको पहिचान सानो उमेरमा नै गर्नसकेमा केही हदसम्म आत्मनिर्भर बनाउन सक्ने सम्भावना हुने बताइन्। उनले छोरामा अधिक देखिएको अटिज्मको प्रभावकारी उपचार भनेको उनीहरूमा रहेको कमजोरी पक्षलाई सञ्चार र सामाजिक बुझाइलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्नुका साथै विशेष सहयोग, प्रशिक्षण र उपचार शीघ्र गर्न सकेमा उनीहरूले अर्थपूर्ण र उपयोगी जीवन जीउन सक्ने बताइन्।
त्यस्तै डा अर्चना कायस्थले अटिज्मका लागि औषधोपचार नभएता पनि अकुपेशनल थेरापी, सञ्चार, व्यावहारिक सीप र सामाजिक थेरापी तथा विशेष र समाहित शिक्षाले आशा लाग्दो सुधार गर्न सक्ने धारणा राखिन्।
उनले धेरैजसोले यसको मुख्य कारण वंशाणुगत नै माने पनि अझसम्म मुख्य कारण पत्ता लाग्न नसकेको जानकारी दिइन्। सोसाइटीका प्रशासकीय प्रमुख सुरेन्द्र बज्राचार्यले अटिज्म भएका बालबालिकाका लागि विशेष विधालयको व्यवस्था, तालीम केन्द्रको स्थापना र अनुसन्धान गर्ने सोसाइटीको भविष्यको योजना भएको बताए।(रासस)