इलाम, २१ माघ – इलामको सूर्योदय नगरपालिकाले आफ्नो नगरभित्रका माध्यमिक विद्यालयहरुमा चिया विषयलाई पाठ्यक्रमको रुपमा समावेश गर्ने भएको छ।
सूर्योदय नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले आगामी शैक्षिक सत्रबाटै आफ्नो क्षेत्रका माध्यमिक विद्यालयमा चिया विषय पढाइ सुरु गर्ने बताए।
नेपालका चियाखेती भइरहेको १४ जिल्लामध्ये इलाम सबैभन्दा बढी चिया खेती गरिने क्षेत्रका रुपमा परिचित छ। भर्खरै सम्पन्न चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागले गरेको व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ ले इलाममा पाँच हजार ६ सय किसानहरु चिया खेतीमा संलग्न रहेको देखाएको छ।
दोश्रोमा झापामा एक हजार ६ सय किसान, पाँचथरमा सात सय ७२ किसानले चियाखेती गरिरहेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार अहिलेसम्म व्यावसायिक रुपले मुलुकमा १२ हजार हेक्टर जमीनमा चियाखेती भइरहेको छ। चियाखेतीमा ९ हजार २ सय किसान र व्यवसायी संलग्न रहेको तथ्यांकमा उल्लेख गरिएको छ।
तर, चिया प्राविधिक नवीन कोइराला भन्छन्, ‘राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकमा मुलुकभरि २१ हजार हेक्टरमा चियाखेती भइरहेको छ, यसभन्दा पनि अघि बढेर केन्द्रीय चिया सहकारी संघले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा २८ हेक्टर जमीनमा चियाखेती भइरहेको छ।’
चिया प्राविधिक कोइरालाका अनुसार यसरी चियाखेती भइरहेको जमीनको क्षेत्रफलको तथ्यांक फरक पर्नुको कारण अहिले नयाँ–नयाँ प्लान्टेशन भएर खेती विस्तार हुनु पनि हो। तथ्यांक विभाग र बोर्डले गरेको सर्वेक्षणमा एक रोपनीभन्दा कम जमीनमा भएको चिया खेतीलाई समावेश गरिएको छैन।
‘तर, बोर्डले आफ्नो तथ्यांकमा थोरै जमीनमा गरिएको चियाखेतीलाई पनि समावेश गरेको छ। त्यस्तै, केन्द्रीय चिया सहकारी संघले निकालेको तथ्यांक पनि सही नै हुनसक्छ,’ कोइरालाले भने, ‘चियाखेतीको द्रूत गतिले विस्तार भएकाले सहकारीको तथ्यांकमा शंका गर्नु पर्लाजस्तो लाग्दैन।’
इलाममा एक सय ५५ वर्षअघिबाट चिया खेती हुने गरेको छ। तर, अहिलेसम्म चियाखेतीसम्बन्धी आधिकारिक शिक्षा नेपालमा सुरु हुन नसक्दा चियाको गुणस्तर, उन्नतखेती, प्रशोधनजस्ता कार्यहरुको समयसापेक्ष ज्ञान किसानलाई उपलब्ध गराउन सकिएको छैन।
यिनै समस्यालाई दृष्टिगत गरी चियासम्बन्धी सम्पूर्ण जानकारी समावेश गरिएको पाठ्यक्रम निर्धारण गरी माध्यमिक तहदेखि नै विद्यार्थीलाई चियाखेतीका सम्बन्धमा पढाई सुरु गरिएको प्रवक्ता पेमा उगेन लामाले बताए।
चियाको विषयमा जानकारी नहुँदा बाहिरबाट प्राविधक ल्याउन बाध्य बनेका चिया उद्योगी र किसानहरु नगरपालिकाको यो कदमप्रति खुशी भएका छन्। चियासम्बन्धी अध्ययनले चिया व्यवसायमा आवश्यक दक्ष जनशक्तिको उत्पादन मुलुकभित्रै हुने हुँदा त्यसले रोजगारीसमेत सिर्जना गर्ने चिया उद्योगी उदय चापागाईले बताए।
यसअघि, नेपालमा चिया विषयको पढाई सुरु नभएको चाहिँ होइन। वि.सं. २०६८ सालमा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा चार वर्षे अन्तर्गत स्नातक तहमा चिया विषयमा पढाई सुरु भएको थियो। तर, त्यो कोर्ष पूरा गर्नका लागि झण्डै पाँच लाख रुपैयाँ शुल्क लाग्ने र अध्ययन अवधिभरमा त्यति नै रकम खर्च हुने भएपछि एक ब्याचभन्दा बढी विद्यार्थी चिया विषय पढ्न रुचि देखाएनन्।
पहिलो ब्याचबाट चिया विषयमा स्नातक गरेका चिया प्राविधिक नवीन कोइराला भन्छन्, ‘शुल्क महँगो भएकाले मेची क्याम्पसले चिया विषयलाई धान्न सकेन, शिक्षकहरु पनि भारतबाटै ल्याउनु पर्ने हुँदा क्याम्पसको चाहना हुँदा–हुँदै पनि यो विषयलाई रोक्नु परेको हामी बुझेका छौँ।’
नगरपालिकाले चिया पाठ्यक्रम तर्जुमाका लागि समिति गठन गरेर काम सुरु गरेको छ। प्रवक्ता लामाले भने, ‘अब चाँडै नै चिया विषय समावेश गरेर पढाई सुरु गराउने छौँ।’