काठमाडाैं– आधुनिकताको विकाससँगै मानिसमा शारीरिकभन्दा मानासिक तनाव बढी हुन थाल्यो । मानव जगतमा भिन्न प्रकारका मानसिक विचलन आउन थाले । मान्छेहरु प्राचीन कालमा पनि ध्यान तपस्या गरेर आत्मशुद्धि गर्ने गर्दथे तर आधुनिकताले ती कुराहरुलाई निरुत्साहित गर्दै लग्यो । फलतः पछिल्लो समय पुनः विभिन्न व्यक्तिहरुले धर्म, सम्प्रदाय र बादका विभिन्न नाममा ध्यान, स्तुति, कार्यशाला तथा शिविरहरु सञ्चालन गरिरहेका छन् ।
लुम्बिनी विपश्यना सेन्टर धम्म जननीका सचिव नारायण अग्रवालका अनुसार आफ्नो स्वाभाविक श्वासको निरीक्षणबाट आरम्भ गरेर आफ्नो शरीर र चित्तवृत्तिमा प्रतिक्षण हुने परिवर्तनशील घटनाहरुलाई तटस्थभावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास विपश्यना ध्यानमा गरिन्छ ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थाविरले विपश्यना ध्यानले मानिसको चित्तलाई दमन गरी मनलाई एकाग्रता बनाउने हुदा सांसरिक जिवनमा हुने राग, द्धेष, मोहबाट मुक्त गराउन विपश्यना महत्त्वपूर्ण साबित भएको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विपश्यना विषयका अध्यापक सुमन्तराज न्यौपानेले विपश्यनाले आफूलाई चिन्न, आफुलाई हेरेर अनित्यको बोधगर्न र वस्तुनिष्ट सत्यताको विकास गर्न सहयोग पुर्याउने बताए ।
विपश्यना आत्मशुद्धिको साधना–विधि भएको लुम्बिनी विपश्यना सेन्टर धम्म जननीका आचार्य योगेन्द्र तुलाधारले बताए । तुलाधारले भने, ‘दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई ग्रन्थिमुक्त गर्ने एक सक्रिय अभ्यास हो ।’
गृहस्थहरुले पञ्चशील र भिक्षु भिक्षुणीहरुले अष्ठशीलको पालना गरेर गरिने विपश्यना अभ्यास गरिदा साधकहरु परस्परिक द्वेष द्रोहको दुर्गुणबाट मुक्त हुने, साम्प्रदायिकता र जातीयताको अहम्भावको बन्धनबाट मुक्त हुने र अन्तमा सृजनात्मक जीवन विताउने कलामा निपूर्ण हुने उनको भनाइ छ ।
- कायानुपस्सना (शरीरका लागि), वेद्नानुपस्सना (भावका लागि), चित्तानुपस्सना (चित्तका लागि), धम्मानुपस्सना (धर्म तथा विशेष प्रकारले देख्नका लागि) विपश्यना साधना गरिन्छ ।
विपश्यनाले दिमागलाई स्थिर राख्ने र शरीरका गतिविधिहरु हेर्ने भएकाले अहिले यसको प्रयोग आवश्यक छ । कायानुपस्सना (शरीरका लागि), वेद्नानुपस्सना (भावका लागि), चित्तानुपस्सना (चित्तका लागि), धम्मानुपस्सना (धर्म तथा विशेष प्रकारले देख्नका लागि) विपश्यना साधना गरिन्छ । यसको प्रयोग विपश्यना शिविरहरुमा विशेष प्रकारले विपश्यना गुरुहरुको मार्गनिर्देशनमा गरिने भए पनि घरमा हुँदा एकान्त स्थानमा आँखा बन्द गरी पलेँटी कसेर बस्ने र आनापाना (सास लिने र फाल्ने) विधिले गर्न सकिन्छ । साथै शरीरलाई शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म आफैं हेर्ने गर्नुपर्दछ । जसले मनलाई शान्त पार्दछ ।
विपश्यना साधना विधि र तालिका
गौतम बुद्धले प्रयोगमा ल्याएको तर पछिल्लो समय हराएको विपश्यना ध्यानलाई सत्यनारायण गोयन्का (एसएन गोयन्का)ले पुनः अभ्यासमा लिएर मानव जगतलाई अमूल्य उपहार दिएका छन् । यो विधिमा सहभागी हुनेले सबैभन्दा पहिले १० दिने शिविरमा भाग लिनुपर्दछ । गुरु शिष्य परम्परामा सञ्चालित विपश्यना साधनाका संसारका विभिन्न ठाउँमा भएका विभिन्न केन्द्रहरुको नियम सबै ठाउँमा एकै हुन्छ । यो विधिको पहिलो सहभागिता १० दिने शिविर हो ।
उक्त शिविरमा भाग लिन चाहने व्यक्ति (साधक/साधिका) ले पहिलो चरणमा केन्द्रभित्र पञ्चशील र अष्ठशीलमा रहनुपर्दछ । पञ्चशीलमा हिंसा नगर्ने, चोरी नगर्ने, परस्त्री गमन नगर्ने, झुठो नबोल्ने र नशालु पदार्थ सेवन नगर्ने पर्दछ । यसैगरी अष्ठशील भन्नाले पञ्चशीलका अतिरिक्त दिउसो १२ बजेपछि भोजन नगर्ने, शृंगार नगर्ने र मनोरञ्जन नगर्ने । उच्च आरामदायी आसन प्रयोग गर्नुहुँदैन ।
यसरी पञ्चशील र अष्ठशील पालना पश्चात तीन दिन श्वासको अभ्यास ( आनापाना) गराइन्छ । उक्त अभ्यासमा नाकबाट श्वास भित्र गएको, बाहिर निस्केको, नाकको प्वालबाट श्वास भित्र बाहिर गर्दा भएको अनुभूतिलाई एकाग्र मनले हेर्न र अनुभूति गर्न सिकाइन्छ । तीन दिनको उक्त अभ्यास पश्चात चौथो दिन साधक साधिकाहरुलाई आचार्यले विपश्यना दिने गर्छन् । समताभाव वा साक्षीभावले शरीरको शिरदेखि पाउसम्म हुने समवेदनालाई निरीक्षण गर्ने र अनुभूति गर्नेगरी बाँकी १० दिनसम्म सिकाइन्छ । समताभाव वा तटस्थता भावले शरीरको हरेक अंगमा हुने समवेदनाको निरीक्षण, अनुभव नै विपश्यना साधना विधि हो ।
तेस्रो चरणमा एकाग्र मनको माध्यमबाट आफ्नो सम्पूर्ण शरीर एवं अन्तर्मनको गहिराइमा साक्षी भावद्वारा निरीक्षण गरिन्छ । यसैलाई विपश्यना साधना पद्धति भनिन्छ ।