काठमाडौं- सुन्तला भिटामिन सि को भण्डारण भएको फल हो। यसमा प्रसस्त मात्रामा पोषण तत्व पाइन्छन्। यसका साथै सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि फाइदाजनक हुन्छ। अहिले फलफूल पसलमा सुन्तलाले ओगटेको देख्न सकिन्छ। सुन्तलाको सिजन भएकाले होला बजार भरि सुन्तला देखिनु स्वभाविक हो। चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द छुट्टै हुन्छ।
सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै फाइदाजनक पनि छ।
जुस बनाएर होस् वा खाजाकै रुपमा पनि खान सकिने सुन्तला प्रकृतिको अनुपम उपहार हो। विभिन्न भिटामिन, खनिज पदार्थ र फाइबरले युक्त सुन्तलालाई स्वास्थ्यका लागि उपयोगी फल मान्न सकिन्छ। नेपालको पाहाडी भेगमा प्रसस्त मात्रामा उत्पादन हुने सुन्तला मुटुरोग, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ।
सुन्तला खानुका फाइदाः
छालाको सुन्दरता– सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ, उच्च रक्तचाप– सुन्तलामा पाइने ‘हेस्परिडिन’भन्ने तत्वले उच्च रक्तचाप हटाउन मद्दत गर्छ।
रोग प्रतिरोधात्मक क्षमता– सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। तसर्थ जाडोको समयमा खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो।
कोलेस्टेरोल– सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। तसर्थ, उच्च कोलेस्टेरोल भएका भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ।
क्यान्सर– सुन्तलामा पाइने ‘डी–लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ। एन्टिअक्सिडेन्टले पनि क्यान्सर हुन नदिन सहयोग गर्छ। सुन्तलामा पाइने प्रसस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ।
स्वस्थ मुटु– सुन्तलामा प्रसस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग र्पुयाउँछ, दृष्टि– सुन्तलामा पाइने भिटामिन ए स्वस्थ आँखाका लागि एकदमै आवस्यक तत्व हो। यसले उमेरसँगै गुम्ने दृष्टि क्षमातालाई बचाउन मद्दत गर्छ।
कब्जियत– सुन्तलामा पाइने फाइबर अर्थात् रेशायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ। यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्न मद्दत गर्छ। त्यसैले अहिले सुन्तलाको मौसममा खाजाका रूपमा सुन्तला खानु र आफ्नो परिवारलाई खान प्रोत्साहन गर्नु स्वास्थ्यको दृष्टिकोणले आवश्यक छ।