काठमाडौं– टर्रो र आशिंक पीरो स्वादको बोझो स्वास्थ्यका लागि भने निकै लाभदायक मानिन्छ। ये निकै उपयोगी वनस्पति हो। पौराणिक शास्त्रहरुमा समेत यसको उल्लेख छ। यसलाई गुणी वनस्पति मानिएको छ। बोझोलाई संस्कृतमा ‘बचा’ भनिन्छ।
संस्कृति भाषामा अभिलेख रहनुले पनि यो सदियौंदेखि प्रयोगमा आएको भन्ने अनुमान गरिन्छ। तर कतिपयलाई त यसको बास्ना र स्वाद मन नपर्न सक्ला, आयुर्वेदमा भने बोझोको खास महत्व छ। बोझो एरियसी फेमेली अन्र्तगत पर्छ। यसको बैज्ञानिक नाम, अकोरस कालामस हो। यसको जरालाई हामी बोझो भन्छौ। पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूल जस्तै हुन्छ।
घर–आँगनमा पाइन्छः
बोझालाई घर–आँगनमा उत्पादन गर्न सकिन्छ। यसको जरा वा डाँठ सजिलै उमार्न सकिन्छ। यसका लागि पानीको दलदल वा चिस्यन भएको ठाउँ आवश्यक हुन्छ। खासगरी पहाडी क्षेत्रमा बोझो पाइन्छ। त्यसो त काठमाडौंमा समेत कतिपयले आफ्नो घर बगैंचामा बोझो रोप्ने गर्छन्। बोझो कति ठाउँमा यो आफै उम्रन्छ। कतिपय ठाउँमा भने आफैले रोप्नुपर्छ।
बोझो रोपेको एक बर्षपछि प्रयोग गर्न मिल्छ। यसको जराबाट बोट फैलन्छ। एक पटक राम्ररी फस्टाएको बोझो अक्सर मासिएर जाँदैन। जरा टुक्राएर प्रयोग गरेपछि, अर्को भागबाट पुन बोट पलाउँछ।
बोझोको प्रयोगः
बोझोको जरा वा भनौ कान्डलाई उखेलेर पखाल्ने। त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ। लामो समय राखेर खानका लागि चाहि टुक्रा बनाएर सुकाउन सकिन्छ। यसरी सुकाएको बोझोलाई सिसाको बोत्तलमा राखेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ।
स्वास्थ्य लाभः
बोझोको फाइदा अनेकौ छन्। घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ। यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ। आयुर्वेदविज्ञहरुका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ। मेडिकल रिसर्चले समेत यो पुष्टि गरिसकेको बताइन्छ। शरीर लठ्याउनका लागि बोझो प्रयोग गरिन्छ।
– शरीर वा जोर्नीको दुखाई निको पार्न काम गर्छ, घाँटी दुखेको ठिक हुन्छ, पेट दुखेको अवस्थामा बोझो सेवन गर्न सकिन्छ। यसले आरम दिन्छ, मानसिक तनाव कम गर्न बोझो सेवन गर्न सकिन्छ, हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ, यसले स्मरणशक्ति बढाउन काम गर्छ, उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ।
– बोझोले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्छ, दम रोगमा यसले प्रभावकारी काम गर्छ, पेटको समस्या भएमा बोझो सेवन गर्नुपर्छ, पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोझो उपयोगी हुन्छ।
कति सेवन गर्नेः
राम्रो काम गर्छ भन्दैमा धेरै वा जथाभावी सेवन गर्दा त्यसको नकारात्मक असर पर्न सक्छ। कुनैपनि औषधीको मात्रा हुन्छ, नेपाली समाजमा उखान नै छ, धेरै खायो भने अमृत पनि बिष हुन्छ। चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ। बढी सेवन गर्दा कतिपय असर गर्न सक्छ।