काठमाडौं– सरकारकोे अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ।
बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो।
स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँ लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको केन्द्रले जनाएको छ।
यसमध्ये केन्द्रबाट नौ करोड २७ लाख रुपियाँ अनुदान दिइएको आयोजना निर्देशक तिलक लिम्बूले जानकारी दिए।
यसबाहेक सङ्घीय सासद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँ पनि सो आयोजनालाई उपलब्ध गराउनुभएको थियो।
२०६९ सालदेखि बनाउने पहल हुँदै आएको सो आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको थियो। यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन्।