काठमाडौं– स्वस्थ रहनका लागि मानिसले हरेक प्रकारका मेहनतहरु गरिरहेको हुन्छ। हरेक व्यक्तिलाई स्वस्थ जीवन मनपर्छ। हरेक व्यक्ति सधैंभरी स्वस्थ रहन चाहन्छ।
तर पनि कहिलेकाहीँ हामी अस्वस्थ हुन्छौं, बिरामी पर्छौं। यद्यपि, हामीले केही साना–साना कुराहरुमा ध्यान दिन सक्यौं भने आफूलाई सकेसम्म स्वस्थ राख्न सफल हुनेछौं।
स्वस्थ राख्न गरिने केही प्रयासहरुः
खानामा नुनको मात्रा– अचार, पापड, सुप तथा तरकारीमा नुनको प्रयोग कम गर्नुपर्छ। स्वस्थ शरीरका लागि हरेक दिन ५ ग्रामभन्दा कम नुन खानु उपयुक्त मानिन्छ। ताजा तरकारी, फलफूल, माछा, पोल्ट्री उत्पादन तथा ननभेज खाना खानुपर्छ।
अत्यधिक तरल पदार्थको सेवन– पानी शरीरको प्रमुख तत्व हो। हाम्रो शरीरको तौलको ६० प्रतिशत अंश पानी हुन्छ। शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ। औषत् एकजना बयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ। पानीले शरीरको छाला कोमल बनाउनुका साथै पाचनतन्त्र ठिक राख्छ।
नियमित स्वास्थ्य परीक्षण– प्रायः हामी बिरामी परेपछि मात्र अस्पताल जान्छौं अथवा डाक्टरलाई भेट्छौं। वास्तवमा आफूलाई स्वस्थ राख्नका लागि बिरामी नै नभई बेला–बेलामा आफ्नो शरीरको परीक्षण गराइ रहनुपर्छ। हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुनुअघि नै स्वास्थ्य परीक्षण गराउनुपर्छ।
धूम्रपान– धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ। यो कुरा थाहा हुँदा–हुँदै पनि कतिपय व्यक्तिहरु ढुक्कले धूम्रपान गरिरहेका हुन्छन्। वास्तवमा धूम्रपानले धेरै प्रकारका रोगहरु निम्त्याउँछ। धूम्रपानका कारण ब्लड प्रेसर बढ्छ। यसले व्यायाम गर्ने क्षमता घट्छ र शरीरमा रगत जम्ने जोखिम वृद्धि हुन्छ।
धूम्रपान छोड्दा आयु बढ्छ, स्वास्थ्यमा सुधार आउँछ। यसबाट आकर्षक देखिन सकिन्छ भने धूम्रपानका कारण मुहारको रिङ्कल बढ्छ। दाँतमा दाग पर्छ, फोक्सो प्रभावित हुन्छ, औंला पहेँला हुन्छन्। अनि छालाको रंग पनि परिवर्तन हुन्छ। त्यस्तै धूम्रपान त्याग गर्दा इन्द्रियहरू सक्रिय मात्र हुँदैनन्, तपाईंको पैसा पनि बचत हुन्छ।
ब्लड प्रेसर–कोलेस्ट्रोल– ब्लड प्रेसर तथा कोलेस्ट्रोलको नियमित परीक्षण गराउनुपर्छ। उच्च रक्तचाप भएका व्यक्तिमा सधैं स्ट्रोक अथवा हृदयाघात हुने खतरा हुन्छ। सकेसम्म हरेक दिन ब्लड प्रेसर जाँच गराउनुपर्छ र थोरै पनि परिवर्तन देखियो भने डाक्टरसँग सल्लाह लिनुपर्छ। रक्तचाप कम हुँदा हृदयमा दबाब कम हुन्छ।
मद्यपान नियन्त्रण– धूम्रपान जस्तै मद्यपान पनि शरीरका लागि हानिकारक हुन्छ। मद्यपान सेवन गर्दा कलेजो, फोक्सो तथा मुटुमा क्षति पुग्छ। यसले काम गर्ने क्षमतामा प्रभाव पार्छ। तौल बढ्छ र हृदयाघातको खतरा पनि बढाउँछ।
तनावलाई घटाउने– यदि तपाईंलाई तनाव बढेको महसुस भयो अथवा निद्रा गडबड भयो भने तुरुन्त डाक्टरकहाँ गएर परीक्षण गराउनु पर्छ।
तौलमा नियन्त्रण– तपाईंको शरीर जति मोटो भयो, तपाईं अस्वस्थ हुने सम्भावना त्यत्ति नै बढी हुन्छ। अतिरिक्त तौलका कारण पनि स्वास्थ्यसम्बन्धी जोखिम बढ्छ र हृदय रोग तथा मधुमेहजस्ता रोग लाग्ने सम्भावना बढ्छ।
यदि तौल सामान्यभन्दा बढी छ भने खानपानमा बिस्तारै परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ। आफ्नो शारीरिक सक्रियता बढाउनुपर्छ। यदि एकैदिनमा एक–डेढ किलो तौल बढेको छ र सातामा एक–दुई किलो बढ्दैछ भने कुनै फिटनेस ट्रेनरसित सल्लाह गरी काम गर्नुपर्छ।
व्यायाम गर्ने बानी– व्यायाम गर्दा शरीरमा शक्ति बढ्छ। शरीरका मांसपेशी पनि मजबुत हुन्छन्। त्यसैले बिस्तारै–बिस्तारै व्यायाम गर्ने बानी बसाल्नुपर्छ। जसले शारीरिक क्षमता स्वतः विकसित हुन्छ। शारीरिक व्यायामका लागि अलग–अलग प्रकारको एरोविक्स, पौडी, साइक्लिङ आदि गर्न सकिन्छ।