काठमाडौं– अधिक खर्च र अव्यवस्थाका कारण प्रायः आलोचित बनिरहने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खर्च कटौतीसहित वचतको रणनीति अगाडि सारेको छ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च कटौतीका क्षेत्र पहिचान गरी सुधारको प्रयास बढाइएको जानकारी दिए।
निगमले तत्काल इन्धन, अधिक उडान खर्च, होटल व्यवस्थापन, इन्जिनियरिङ र कर्पोरेट सुरक्षा विभागजस्ता क्षेत्रमा खर्च बचत गर्नेगरी योजना बनाइसकेको उनले बताए। निगमले इन्धन भण्डारण र अनावश्यक प्रयोगमा मात्रै करिब एक अर्ब रुपियाँ अहिलेको खर्चमा कम गर्न सकिने लक्ष्य राखेको छ।
त्यस्तै अधिक उडान खर्च शीर्षकमा दुई करोड, त्यस्तै उडान कर्मचारीलाई राखिने होटल व्यवस्थापनको खर्चमा करिब दुई करोड, इन्जिनियरिङतर्फ करिब ११ करोड र कर्पोरेट सुरक्षातर्फ वार्षिक करिब ५६ लाख रुपियाँ खर्च कम गर्ने लक्ष्य निगमले निर्धारण गरेको छ।