दमौली– जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पताललाई ताइवानी रोटरियनले भिडियो एक्सरे मेसिन सहयोग गरेको छ। दमौली अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि रोटरी क्लब अफ ताइपेइ र रोटरी क्लब अफ पातेसुतेको सहयोगमा रोटरी क्लब अफ दमौलीले अस्पताललाई करीब रु आठ लाख मूल्य पर्ने भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो।
उक्त मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई हस्तान्तरण गर्दै पूर्वसंविधानसभा सदस्य एवं क्लबका पूर्वअध्यक्ष रामचन्द्र पोखरेलले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए। बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै पोखरेलले रोटरी क्लबले मानवीय सेवाको महत्वपूर्ण काम गरेको बताएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले अस्पतालमा सेवा लिन आउने बिरामीलाई मेसिनले सहज हुने बताउँदै सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अधिकारीले अस्पताललाई ५० श्ययाको बनाउन प्रयत्न भइरहेकाले यस अभियानमा सबैको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।
अस्पतालको स्तरोन्नतिका लागि न्यूनतम ३५ रोपनी जग्गा आवश्यक रहेकाले सम्भावित जग्गाको खोजी भइरहेको अधिकारीको भनाइ थियो। उक्त मेसिनबाट ट्युमर, मिर्गौलामा पत्थरी र फोक्सोमा पानी जमेको पत्ता लगाउन सकिने अस्पतालका डा रामहरि दाहालले जानकारी दिएका छन्।
रोटरी क्लब अफ दमौलीका अध्यक्ष सुरजकुमार मल्लले अस्पताललाई आगामी दिनमा पनि सहयोग गर्ने बताउँदै मेसिनको सही सदुपयोग हुनुपर्नेमा जोड दिए। पन्ध्र श्यया क्षमताको अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ।
सरकारीतर्फ २४ दरबन्दी भए पनि १८ जनामात्रै कार्यरत रहेको र अस्पताल विकास समितिमार्फत ३३ कर्मचारी अस्पतालमा कार्यरत छन्। अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्सअनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियनअसिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन्।
अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ। विसं २०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको यस केन्द्र विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो।
विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो। सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो। अस्पतालले गत आर्थिक वर्षमा करीब ४० हजारलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ। अस्पतालबाट दैनिक ३०० बिरामीले सेवा लिइरहेका छन्। (रासस)