काठमाडौं– जाडो लागेसँगै केही राहत तथा केही समस्याहरु पनि एक साथ देखा पर्न थालेका छन्। जाडो मौसमको प्रारम्भमा तथा अन्त्यमा हामीले केही स्वास्थ्य समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। त्यसमध्येको एक हो ओठ फुट्नु।
ओठ हाम्रो सुन्दरताको अभिन्न अंग हो। तर, हाम्रो लापरवाही अथवा मौसमको कारणले ओठहरु भद्दा बन्न पुग्छन्। तर, केही कारण अरु पनि हुन्छन्। जसले ओठ फुट्नका लागि सहयोग र्पुयाउँछन्। अनिवार्य कुरा के छ भने हामीले तीनको हेरचाहमा विशेष ध्यान दिनुपर्छ।
ओठ फुट्ने कारणः
शरीरमा पानीको कमी– जाडो मौसममा हरेक व्यक्ति नै ओठ फुट्ने समस्याबाट पीडित हुन्छन्। तर, शरीरमा पानीको कमी भयो भने जाडो मात्र होइन। गर्मी मौसममा समेत हाम्रो ओठ सुख्खा हुन थाल्छ। किनभने शरीरमा भएको पानीको कमीको प्रभाव ओठमा समेत पर्दछ। घर बाहिर निस्कने क्रममा रुखापन अझ बढेर जान्छ। त्यसैले शरीरमा पानीको मात्रा कमी हुन दिनुहुँदैन। अनिवार्य कुरा के छ भने दिनमा कम्तिमा ८ गिलास पानी पिउनैपर्छ।
ओठमा जिब्रो घुमाउनु– केही व्यक्तिहरु आफ्नो ओठलाई ओसिलो बनाउनका लागि आफ्नो जिब्रो ओठमा घुमाइरहन्छन्। यसबाहेक उनीहरु ओठलाई टोक्ने, ओठका नरम छालालाई दाँत अथवा हातले कोट्याउने समेत गर्छन्। यो क्रियाले ओठ अति नै खराब हुन्छ। त्यसो गर्नाले तपाईंको ओठ रुखो तथा निर्जीवझैं हुन्छ। त्यसैले तपाईंले यसप्रकारको बानीलाई छाडेर समेत आफ्नो ओठको समस्याबाट केही हदसम्म छुटकारा पाउन सक्नुहुनेछ।
मुखबाट सास फेर्नु– जब हामीलाई रुघा लाग्छ। त्यो बेला हामी नाकबाट सास फेर्न सक्दैनौं। फलस्वरुप हामीले मुखबाट सास फेर्नु पर्ने हुन्छ। मुखबाट सास फेर्ने क्रममा हावा हाम्रो ओठ हुँदै मुख भित्र प्रवेश गर्छ। जसका कारण ओठको ओसिलोपना समाप्त हुन्छ र हाम्रो ओठ फुट्न थाल्छ। तर, केही व्यक्तिहरुको बानी नाकको साटो मुखबाट सास फेर्ने हुन्छ।
जसका कारण त्यस्ता व्यक्तिहरुको ओठ हरेक मौसममै फुटिरहेको हुन्छ। त्यसरी सास फेर्नु न केवल ओठको लागिमात्रै नभएर समग्र स्वास्थका लागि समेत हानिकारक हुन्छ। किनभने सास फेर्ने प्रक्रिया नाक बाट मात्रै गरिन्छ, मुखबाट होइन। त्यसैले तपाईंले आजैदेखि आफ्नो यो बानीमा परिवर्तन ल्याउनैपर्छ।
बोटलबाट पानीको सेवन– तपाईंको बोतलमा सोझै मुख गाडेर पानी पिउने बानी छ भने पनि त्यसले तपाईंको ओठ फुटाउन सक्छ। किनभने त्यसरी पानी पिउँदा तपाईंको ओठले पानीलाई स्पर्श गर्न पाउँदैन। अर्थात् ओठ भिज्दैन। जसका कारण पनि ओठ फुट्न थाल्छ। त्यसैले हामीले सकेसम्म गिलासबाटै पानी पिउने बानी बसाउनुपर्छ।
ओठलाई नरम बनाउने उपायः
गुलावको पत्ता– आधा कप दूधमा पाँचदेखि छ वटा गुलावको फूलको पत्तालाई मिसाएर तीन घण्टाका लागि राखिदिने र त्यसपछि उक्त मिश्रणलाई राम्ररी पेस्ट बनाउने। त्यसपछि करिब १५ मिनेटका लागि त्यसलाई आफ्नो ओठमा लगाउने र चिसो पानीले सफा गर्ने। तपाईंले यसरी गुलावको पात र दूधको पेस्टलाई हरेक दिन एक अथवा दुई पटक लगाउनुपर्नेछ।
यसले हाम्रो ओठलाई सूर्यको किरणबाट समेत जोगाउँछ। किनभने गुलावको पातमा हुने एन्टि-इन्फ्लेमेटरी गुणले छालालाई घामबाट हुने हानिबाट बचाउन सहयोग र्पुयाउँछ। यतिमात्र होइन, गुलाव जलले समेत हाम्रो छालालाई स्वस्थ बनाउनका लागि उपयोग हुन्छ।
मह तथा भ्यासलिन– ओठमा मह लगाउने र त्यसमाथि भ्यासलिन लगाएर १० मिनेटसम्म त्यसै छाडिदिनुपर्छ। त्यसपछि ओठलाई टिस्यु पेपरले सफा गर्नुपर्छ। यसो गर्नाले करिब एक हप्तामै तपाईंले आराम पाउनुहुनेछ। महमा एन्टिब्याक्टेरियल गुण हुन्छ र त्यसले घाउलाई चाँडै भर्ने काम गर्छ।
त्यहीँ, भ्यासलिनले रुखो छाला तथा रुखो ओठलाई नरमपना प्रदान गरेर त्यसलाई मुलायम बनाउँछ। यो उपाय अपनाएर तपाईंले आफ्नो ओठलाई नरम तथा स्वस्थ राख्न सक्नुहुनेछ।
चिनी र जैतुन– चिनीलाई जैतुनको तेल तथा महसँग मिसाउने तर चिनीलाई घुल्न नदिने। त्यसलाई स्क्रबझैं आफ्नो ओठमा लगाउने। स्क्रब गरेपछि मन तातो पानीले ओठलाई धुने। यसलाई हप्तामा तीन पटक गर्न सकिन्छ। चिनी एक उत्कृष्ट एक्सफोलिएट हो। जसले तपाईंको फुटेको ओठलाई ठिक पार्न सहयोग र्पुयाउँछ।
त्यसले स्क्रब गर्नाले ओठ एक्सफोलिएट हुन्छ र रुखो छालाबाट छुटकारा पाउन सकिन्छ। महले छाला नरम र मुलायम हुन्छ भने ओलीयआयलमा भएको एन्टि–इन्फ्लेमेटरी तथा एन्टि–क्यान्सर गुणले हामीलाई छालाको क्यान्सर हुनबाट समेत जोगाउँछ।