काठमाडौं– हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन्।
मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन्। शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा व्यवस्थापन गर्छन्। हड्डीलाई स्वस्थ राख्ने हर्मोनहरू पनि मिर्गौलामै बन्छन्। तर रक्तचाप बढ्दा मिर्गौलाका रक्तनलीमा दबाव पर्न गई यी काम राम्ररी हुन पाउँदैनन्।
मिर्गौलाको समस्या सबै उमेर समूहका व्यक्तिमा हुन सक्छ। तर त्यसको कारण फरक हुनसक्छ। बालबालिकालाई पिसावनलीमा अवरोध सिर्जना भएर, विभिन्न खाले संक्रमण बल्झिएर, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएर मिर्गौलाको समस्या देखिएको पाइन्छ। पिसाबमा अत्यधिक प्रोटिन चुहिने समस्या देखियो भने पनि यस्तो जोखिम बढ्छ।
समस्या भए यस्ता संकेतः
–पिसाबमा फिँज आइरहनु वा पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको आइरहनु, छिनछिनमा पिसाब लाग्ने, पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ।
– सुत्दा अग्लो सिरानी चाहिने वा थोरै हिँडे पनि स्याँस्याँ हुने वा त्यत्तिकै थाकेजस्तो लाग्ने लक्षण भएमा परीक्षण गराइहाल्नुपर्छ।
– कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो।
मिगौला रोगबाट कसरी बच्नेः
- स्वास्थ्य, ताजा र पौष्टिक खाना मिलाएर दैनिक खाने, प्रति व्यक्ति दैनिक ५ ग्रामभन्दा कम नुन खाने, पानी प्रसस्त पीउन।
- धुम्रपान तथा मदिरा सेवन नगर्ने, दैनिक ३० मिनेर पसिना आउने गरी हिड्ने वा व्यायम गर्ने, चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि सेवन गर्ने।