काठमाडौं– राति ढिलासम्म बस्ने र बिहान ढिलासम्म सुत्ने केही मानिसहरुको बानी छ भने तत्कालै बन्द गर्न आवश्क छ, अन्यथा त्यो स्वास्थ्यको लागि खतरा हुन सक्छ।
वैज्ञानिकहरुको एक संस्थाले गरेको अध्ययनले बिहान अबेरसम्म सुत्ने व्यक्ति मस्तिस्क रोगबाट गम्भीर रुपमा ग्रसित हुने कुरा पुष्टि गरेको छ। जसलाई डिमेन्सिया नामले चिनिन्छ।
डिमेन्सिया एउटा मानसिक रोगको यस्तो स्थिति हो, जसमा दिमागसँग जोडिएका कयौं समस्याहरु हुने गर्दछन्। आम रुपमा डिमेन्सिया हुँदा व्यक्तिको स्मरण शक्ति कमजोर हुन्छ। यो रोग लागेपछि मानिसमा काम गर्ने क्षमता पनि कम हुने गर्दछ।
स्मरण शक्ति नष्ट हुने खतरा- डिमेन्सिया एक न्यूरोलोजिकल समस्या हो। जसको कुनै उपचार छैन। यो रोगबाट बच्ने एकमात्रै बाटो भनेको समयमा नै जरुरी सावधानी अपनाउनु नै हो। त्यसको लागि हामीले त्यो रोगको खतरा बढ्ने बानीहरुलाई दूर गराउनुपर्छ।
नौं घण्टाभन्दा धेरै र छ घण्टा भन्दा कम सुत्नु हानिकारक- डिमेन्सियालाई लाइफस्टाइलसँग जोडिएको बिरामी पनि भन्ने गरिन्छ। गलत जीवनशैली अपनाउँदा मानिसहरु यो रोगको शिकार हुने गर्छन्। यसको समस्या धेरैजसो ५० वर्षभन्दा बढी उमेरका मानिसहरुमा लाग्ने गर्दछ।
तर, वैज्ञानिकहरुको अध्ययनबाट यो कुरा पुष्टि भएको छ कि यदि तपाईंहरु बिहान ढिलासम्म सुत्नुहुन्छ भने तपाईंलाई ५० वर्षभन्दा कम उमेरमा पनि यो रोग लाग्नसक्छ।
यो अध्ययन ५ हजार २४७ जनामा गरिएको थियो। अध्ययन गरिएकाहरुको उमेर ४५ वर्षमाथि र ७५ वर्षसम्म थियो। अध्ययन रिपोर्टको नतिजामा ९ घण्टाभन्दा धेरै सुत्ने मानिसहरुमा डिमेन्सियाको समस्या धेरै देखिएको छ।
बढी सुत्ने मात्रै होइन, ६ घण्टाभन्दा कम सुत्नेहरुमा पनि यो समस्या देखिएको थियो। विश्वव्यापी मान्यताअनुसार युवावस्थामा दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक मानिन्छ। त्यसैले ९ घण्टाभन्दा धेरै र ६ घण्टाभन्दा कम सुत्न नहुने सोधकर्ता बताउँछन्।
धेरै सुत्दा किन हुन्छ खतरनाक - सोही रिपोर्टमा धेरै सुत्नु किन खतरनाक हुन्छ, भन्ने विषयमा पनि उल्लेख गरेको छ। धेरै सुत्दा कयौं प्रकारको हर्माेनहरुको स्रावमा असन्तुलन पैदा हुन्छ, जुन मानसिक रोगको कारण बन्न पुग्छ। ज्यादा सुत्दाको घाटा र फाइदाबारे अझै धेरै अध्ययन हुन बाँकी छ।
यो अध्ययन अमेरिकाको नेशनल स्लिप फाउण्डेशनले गरेको हो। सो संस्थाका अनुसार सुत्नेहरुले पनि गहिरो निद्रा नलिने र जरुरतभन्दा कम सुत्नेहरुमा कोग्नीटिभ (दिमागसम्बन्धी) समस्याहरुको खतरा ज्यादा भएको देखिएको छ।
जानकारहरुका अनुसार लामो समयसम्म शरीरमा गहिरो निद्रा परेन भने तुरुन्त चिकित्सकहरुसँग यसको समस्याको बारेमा परामर्श गरिहाल्नुपर्छ। अन्यथा त्यो खतरनाक पनि हुनसक्छ।
डिमेन्सियाको सुरुआती लक्षण- डिमेन्सिया भएका मानिसहरुमा केही विशिष्ट किसिमका लक्षणहरु देखापर्छ। यसबाट पीडित मानिसले कुनैपनि चिजलाई छिट्टै भुल्ने गर्छन्। खासगरेर भर्खरैको घटनाबारे पनि समय समयमा दोधारमा परिरहन्छन्।
कुनैपनि काममा ध्यान नजानु, दैनिक गरिने काममा पनि पटक- पटक गल्ती गर्नु, हर समय गुपचुप रहनु, उदास रहनु या डिप्रेशनको जस्तो लक्षण देखिनु डिमेन्सियाको सुरुआती लक्षण हुन्।