काठमाडौं– उमेरले ४० वर्ष नाघेपछि एकाएक शरीर मोटो हुन थाल्नु स्वास्थ्यको लागि हानिकारक रहेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार ४० वर्षको उमेरदेखि मोटाउँदै जाने मानिसमा अन्तर्गभासयमा हुने क्यान्सर (इन्डोमेट्रियल क्यान्सर) हुने सम्भावना ७० प्रतिशत हुन्छ।
पुरुषहरुमा मिर्गौलाका कोशिकाहरुमा क्यान्सर हुने सम्भावना ५८ प्रतिशत हुन्छ भने पेटमा क्यान्सर हुने सम्भावना २९ प्रतिशत हुन्छ। धेरै मोटा मानिसहरुमा सामान्य रुपमा हुने क्यान्सरको सम्भावना पनि १५ प्रतिशतसम्म बढी हुने गर्छ।
अन्तर्रा्ष्ट्रिय एक विश्वविद्यालयले गरेको अध्ययनले ४० वर्ष कटेपछि अस्वाभाविक रुपमा मोटोपन बढेमा क्यान्सरको समेत जोखिम हुने खुलासा गरेको हो।
४० वर्षभन्दा माथिको उमेरलाई बयस्क मानेर गरिएको सो अध्ययनमा बयस्कको उमेरमा आवश्यकताभन्दा २५ देखि ३० किलोसम्म मोटो हुँदा क्यान्सरको सम्भावना हुने प्रतिवेदनमा उल्लेख छ।
भर्जन विश्वविद्यालयको डिपार्टमेन्ट अफ पब्लिक हेल्थ एण्ड प्राइमरी केयरले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। यस अध्ययनमा शोधकर्ताहरुले दुई वा त्योभन्दा धेरै किसिमका मोटा मानिसहरु र सोही संख्यामा सामान्य शरीर भएका मानिसहरुलाई समेत तीन वर्षसम्म अलग–अलग ठाउँमा राखेर अध्ययन गरेका थिए।
उनीहरुको दैनिकी र खानपिनमा बराबर रेखदेख गरिएको थियो। अध्ययनको निष्कर्षमा धेरै मोटा मानिसहरुको वयस्क उमेरमा रजनोवृत्तिपछि स्तन क्यान्सर, अन्तर्गभाशयमा क्यान्सर, मिर्गौलाका कोशिकाहरुमा क्यान्सर एवं पेटमा समेत क्यान्सर लागेको पाइयो।
यो अध्ययनमा नर्वे, स्वीडेन र अष्ट्रियाका व्यक्तिहरु सहभागी थिए। मी–क्यान नामक सो अध्ययनमा २ लाख २० हजार बयस्कहरुबाट प्राप्त तथ्यांकको विश्लेषण गरिएको थियो। उचाइ र तौलसहित स्वास्थ्य जाँचका जानकारीहरु नेशनल क्यान्सर रजिष्ट्रिको तथ्यांकसँग सम्बन्धित थियो।
जाँचको समयमा २७ हजार ८ सय ८१ वयस्कहरुमा क्यान्सरको समस्या देखिएको थियो। जसमा ३५ प्रतिशत अर्थात् ९ हजार ७ सय ६१ जना मोटोपनका शिकार थिए।
मोटोपनबाट ग्रस्त सहभागीहरुमा सामान्य बीएमआई भएका (३० भन्दा धेरै बीएमआई) सहभागीको तुलनामा मोटोपन धेरै भएकाहरुमा धेरै क्यान्सर विकसित भएको देखिएको छ। सो प्रतिवेदनमा लेखिएको छ, ‘क्यान्सरको जोखिम पुरुषहरुमा ६४ प्रतिशत र महिलाहरुमा ४८ प्रतिशत पाइएको छ।’
३० वर्ष पुगेपछि के गर्ने– उमेरसँगै हामीहरुले आफ्नो चालचलन र व्यवहारलाई पनि परिवर्तन गर्दै जानुपर्छ। उमेर र शक्ति हुँदासम्म बलिया मानिसहरु बुढ्यौलीले छोएसँगै बिस्तारै शिथिल र कमजोर बन्दै जान्छन्। बुढेसकालसम्म नियमित स्वस्थ र क्रियाशील रहन ३० वर्षको उमेरदेखि नै निम्न कुराहरुमा ध्यान दिनुपर्छ।
नियमित स्वास्थ्य अभ्यास- नियमित स्वास्थ्य अभ्यास त ३० वर्षको उमेर नपुग्दै पनि आवश्यक छ। ३० वर्षपछि झनै नियमित स्वास्थ्य परीक्षण र अभ्यास अत्यावश्यक हुन्छ। बिहान उठेर दौडिने र अन्य शारीरिक अभ्यास गर्ने, सम्भव भए साँझको समयमा पनि योगा आदि अनिवार्य गर्नुपर्छ।
मानिस अनुसारको व्यवहार– यो समयमा हामीले अरुप्रति गुनासो गर्न बन्द गर्नुपर्छ। अरुलाई माफी दिन सिक्दै जानुपर्छ। कोही कसैसँग धेरै अपेक्षा नराख्ने, आफ्नो मानसिक शान्ति भंग गर्ने काम नगर्ने गर्नुपर्छ। तपाईं कुनैपनि कुरा चाहनुहुन्छ भने त्यसलाई आफैं मजबुत बनाउने कोसिस गर्नुपर्दछ।
धेरै उत्पादक बन्नुहोस– ३० वर्ष पछिको उमेरमा हामीले हरेक कामको नतिजा निस्कनेगरी सक्रिय हुनुपछ। आवश्यक ठाउँमा मात्रै समय खर्च गर्नुपर्छ। त्यसको लागि हामी धेरै सिर्जनशील र उत्पादक बन्नुपर्छ।
देखासिकी बन्द गर्नुपर्छ– ३० वर्षको उमेरपछि हामी अरुसँग परिपक्व व्यवहार गर्नुपर्छ। परिपक्व व्यवहार मात्रै होइन। परिपक्वता पनि प्राप्त गर्नुपर्छ। त्यसको लागि इष्या, अनुत्पादक प्रतियोगिता आदिको भावनाबाट बचिराख्नुपर्छ। मानिसहरु सामाजिक सञ्जालमा धेरै समय बिताइरहेका हुन्छन्। त्यसले मानिसमा तनाव पैदा गर्छ। त्यसैले यो उमेरमा तनावमुक्त काममा धेरै ध्यान दिनु
आफ्नो वित्तीय खातालाई मजबुत बनाउनुहोस– जब हामी ३० वर्ष लाग्छौं। त्यसपछि हामी आफ्नो वित्तीय खातालाई मजबुत बनाउने तर्फ केन्द्रित हुनुपर्छ। यो उमेरपछि पैसा खर्च गर्दा पनि समझदारीसँग खर्च गर्ने, भविष्यको बारेमा सोच्ने, उचित योजना बनाउने, आफ्नो खर्च र खाताको प्रवन्धन गर्ने जस्तो काममा सक्रिय हुनुपर्छ।