काठमाडौं– बाथ बच्चा देखि वृद्घ सम्म सबै उमेरका मानिसमा देखिन सक्छ। उमेर अनुसार बाथको प्रकार र जटिलता फरक फरक हुन्छ। यसै गरी महिला र पूरुषमा पनि कुनै बाथ महिलामा बढी देखिन्छ भने कुनै पूरुषमा देखिन्छ। बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउछ।
अहिले सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ। यो रोग प्राय जसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ। हाम्रो शरिरमा बाहिरी जिवाणु सँग लड्नको लागी बिशेष कोशीकाहरु हुन्छन्।
जब कुनै कारणवस यी कोशीकाहरुले आफनै शरिरका विभिन्न अंगहरुलाई आक्रामण गर्न थाल्छन, त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ। यस अटोयिमुन रोगहरुमा बाथ रोग, डाईवेटिज, थाईरोइड तथा अन्य रोगहरु पर्दछन्।
बाथ रोग लाग्नुको कारण अहिलेसम्म पत्ता लागि सकेको छैन। तर जेनेटिक र कुनै विशेष जिवाणुको संक्रामणको कारणले भने बाथ लाग्न सक्छ। यसै गरी चुरोटको धुँवाले बाथको मात्रा बढाउन सक्छ।
नेपालमा बाथको संख्या कति छ भनेर कुनै तथ्याकं छैन। चिकित्सकहरुका अनुसार विश्वको १० प्रतिशत जनसंख्यालाई बाथ रोग हुने अनुमान गरिएको छ। यस हिसाबले नेपालमा पनि प्राय ३० लाख बाथ रोगी हुनसक्ने चिकित्सकहरु बताउँछन्।
नेपालमा गठिया बाथ, कुरकुरे हड्डी खिइने बाथ, हड्डी मक्खिने बाथ, यूरिक एसिडको बाथ, मेरुडण्डको बाथ, लुपस, मांसपेसीको बाथ, स्केलेरोडमा हुन्। यी बाहेक अन्य प्रकारका बाथ पनि देखिने गरेको छ।
बाथका लक्ष्यणहरु के के हुन, कसलाई हुन सक्छः
बाथको प्रकार अनुसार लक्ष्यणहरु भिन्न भिन्न हुन्छन। प्राय जसो सबै बाथमा हुने लक्ष्यण भनेको जोर्नीहरु दुख्नु हो। साना तथा ठूला जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने प्रारम्मिक लक्ष्यणमा पर्छ। समयमै उपचार नगर्दा जोर्नीहरु बिस्तारै बङ्गिदै जान सक्छ।
गठिया बाथ– यो बाथ प्राय जसो ४० वर्ष कटेका महिला मान्छेमा बढी देखिन्छ। पुरुषमा भन्दा महिलामा यो तिन गुणा बढि देखिएको छ यस बाथमा जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने र बिस्तारै बङगिदै जाने हुन्छ।
युरिक एसिडको बाथ– यो प्राय जसो ४० वर्ष कटेका पुरुषमा देखिने बाथ हो। युरिक एसिड को बाथ महिला र बच्चामा धेरै देखिदैन। यस बाथमा प्राय जसो खुट्टाको बुढी औंला रातो भएर सुन्निएर बेस्सरी दख्ने गर्छ र ४, ५ दिनमै आफै निको भएर जान्छ। यस्तो दुखाई वर्ष दिनमा २, ३ पटक हुन सक्छ।
लुपस– यो बाथ तन्नेरी महिलाहरुमा बढी पाईन्छ। यसमा जोर्नीहरु दुख्नुको साथै कपाल धेरै झर्ने, मुखमा बारम्बार घाउ आउने, घाममा जादाँ अतिरिक्त पोल्ने र दाबर आउने तथा चिसोमा औलाको रँग परिवर्तन हुने जस्ता लक्ष्यणहरु देखिन्छन्।
मांसपेसीको बाथ– यो पनि महिलामा बढी देखिने एक प्रकारको बाथ हो। यसमा शरीरका विभिन्न मांसपेसीहरु दुख्ने ,कटकटी खाने आलश्य हुने, निद्रामा समस्या हुने, बारम्बार टाँउको दूख्ने जस्ता लक्ष्यण हुन सक्छन्।
स्केलेरोडर्मास्– यो बाथ महिलामा बढि देखिन्छ। यो बाथ भनेको छाला कडा हुने बाथ हो। यस बाथमा छाला संगै शरीरका भित्री अंगहरु जस्तै फक्सो, मुटु, खानाको नलीमा पनि असर पर्न सक्छ।
बाथबाट बच्ने उपायः
बाथ हुने नदिन त कुनै उपाय छैन। तर बाथका जटिलताहरु बाट भने बच्न सकिन्छ। समयमा रोगको पहिचान र उपचार गरियो भने बाथ पुरापुरी नियन्त्रणमा आउन सक्छ।
बाथको उपचारः
बाथ रोगको नियन्त्रणका लागी विभिन्न प्रकारका औषधीहरु र पद्दतीहरु उपलब्द छन्। रोगको धरण र जटिलता अनुसार औषधिको प्रयोग गरिन्छ।
बाथ भनेको दीर्घ कालीन रोग भएकोले औषधी पनि प्रायः लामो समय सम्म नै चल्छ। तर लक्षण शुरु भएको ३ महिनामा बाथको उपचार सुरु गर्न सकेमा बाथ रोग पुरा नियन्त्रणमा रहेर औषधी खान नपर्ने अवस्था पनि आउन सक्छ।