काठमाडौं – सरकारी टोलीले २ वर्षअघि गरेको अनुगमनमा राजधानीको दरबारमार्गमा व्यापारीहरुले व्यापक ठगी गरिरहेको पाइएको थियो। व्यापारीहरुले उपभोक्ताहरुलाई चर्को मुल्यमा सामान बिक्रि गरिरहेको तथ्य तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वको अनुगमन टोलीले उजागर गरेको थियो।
अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्रेता पसल नाइक, बेन्ट्ले, स्टोर वन र पुमाले उपभोक्ताबाट चर्को मूल्य लिइरहेको पाइएको थियो। चाडपर्वको सेलमा ५० प्रतिशत छूट अफर भनिएपनि खरिद मूल्यभन्दा कैयौं गुणा बढी मुल्यमा सामान बिक्रि भएको अनुगमन टोलीले ठहर गरेको थियो। व्यापारीहरुले पुमा र बेन्ट्ले ब्राण्डको जुत्ता २ हजार ६ सय रुपैयाँमा खरिद गरेर मूल्य २६ हजार कायम गरी ५० प्रतिशत छूट दिइरहेका थिए।
त्यस्तै १ सय रुपैयाँमा खरिद गरिएका मोजाको मूल्य २ हजार ४ सय रुपैयाँसम्म तोकेर ५० प्रतिशत छूट दिइरहेका थिए। आपूर्ति विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालको समेत सहभागिता रहेको अनुगमन टोलीले ग्राहक ठग्ने पसलमा तत्काल शिलबन्दी गरिएको थियो। व्यापारीलाई कालोबजारी ऐन अन्तर्गत प्रहरीले पक्राउ गरेको थियो। १ हप्तापछि व्यापारीलाई जरिवाना लगाउदैँ पसलको शिलबन्दी खोलियो।
यसपालिको दशैंअघि बिहीवार अनुगमन टोली दरबारमार्ग पुग्दा २ वर्षअघिकै जस्तो ठगी प्रस्ट त देखिएन तर व्यापारीले अनुगमन टोलीमा असहयोग गरे।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बिहीवार दरबारमार्गमा अनुगमन गर्न ५ वटा टोली खटाएको थियो। ५ मध्ये एउटा टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन शाखाका अधिकृत कपिल रेग्मीले गरेका थिए। रेग्मी नेतृत्वको टोलीले दरबारमार्ग पुगेर पहिले सामसङ डिलरमा अनुमगन गर्यो।
त्यसपछि शेर्पा मलमा अनुगमन थालेको टोलीले मलको भूइँतलालाई छाडेर पहिलो तलाबाट अनुगमन शुरू गर्यो। पहिलो तल्लाको पहिलो पसलमै अनुगमन गर्दा भूइँतलाका व्यापारी पसल बन्द गरेर भाग्न थाले।
‘पसल बन्द गरेरै भागिसकेपछि कसरी अनुगमन गर्ने?’ संयोजक रेग्मीले प्रश्न गर्दै भने, ‘हामीले पसलको दर्ता, भ्याट क्लीयरेन्स लगायतका कागजात मागिरहेका छौैं । उहाँहरूले त्यो प्रक्रिया नपुर्याएको हुन सक्छ तर कहिलेसम्म बन्द गर्लान्? हामी निरन्तर फलोअप गर्छौं।’
पसल बिहीवार दिउँसोदेखि नै खुलिसकेका छन् तर अनुगमन टोलीले त्यसपछि ती पसलमा अनुगमन गरेन। कार्यालय समयमा मात्रै अनुगमन गर्न मिल्ने भएकाले ती पसलमा बिहीवार नै अनुगमन गर्न सम्भव नभएको तर अनुगमन नरोकिने संयोजक रेग्मीले बताए।
बिहीवार नै अर्को अनुगमन टोलीले दरवारमार्गकै बेन्ट्ले पसलमा अनुगमन गरेको थियो। पसलले अनुगमन टोलीका सदस्यलाई बिक्री बिल देखाएन । अनुगमन टोलीले अनुगमनमा असहयोग गरेको भन्दै बेन्ट्लेलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ५४ मा अनुगमन टोलीलाई अनुगमनमा सहयोग गर्नुपर्ने उल्लेख छ।
अनुगमनमा सहयोग नगर्ने व्यापारीलाई पहिलो पटक २० हजार रुपैयाँ र त्यसपछि पटकैपिच्छे दोब्बरले जरिवाना गर्न सकिने प्रावधान सोही ऐनको दफा ३८ मा उल्लेख गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुगमन अधिकृत दीपक पोखरेलले बताए। बेन्ट्ले त्यहीँ पसल हो, जसलाई २ वर्षअघि बढी मूल्य लिएको अभियोगमा कारवाही गरिएको थियो।
अनुगमनमा जाँदा व्यापारी भाग्नु र बेन्ट्लेले अनुगमनमा सहयोग नगर्नु लगायतका घटना हेर्दा दरबारमार्गका पसलमा खासै सुधार नआएको भन्न सकिने उपभोक्ता अधिकारकर्मी बताउँछन्। ‘सरकारी अनुगमन पनि प्रभावकारी भएको छैन। व्यवसायीको क्रियाकलापले पनि बजारमा खासै सुधार आएको देखिँदैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘न्युरोडको रन्जना कम्प्लेक्समा देखिएको व्यवसायीको व्यवहार र बिहीवार दरबारमार्गमा देखिएको केशले सुधार आएको भन्न सक्ने स्थिति छैन।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने बजारमा सुधार आएको बताउँछन्। ‘दरबारमार्गकै पसल हेर्दा केही सुधार आएको छ। २ वर्षअघिको जस्तो दोब्बर मूल्य अहिले लिने गरेका छैनन्,’ उनले भने, ‘हामीले सेल लगाएपछि र सेल लगाउन अघिको मूल्य विश्लेषण गर्न भनेका थियौं। २ वर्षअघि जस्तै दोब्बर मूल्य लिने गरेको देखिएन । अहिले केही सुधार आएको भन्न सकिने स्थिति छ।’
बजार अनुगमन निरन्तर भइरहेको र चाडपर्वको मुखमा उपभोक्ता ठगिने सम्भावना बढी भएकाले मन्त्रालयबाट जनशक्ति मगाएर पनि अनुगमनमा जोड दिइएको विभागले जनाएको छ।
वाणिज्य विभागले बिहीवार एकान्तकुना र दरबारमार्गमा मात्रै २३ पसलमा अनुगमन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए। उनका अनुसार दरबारमार्गको बेन्ट्लेलाई २० हजार, दरबारमार्गकै स्पोट्र्स प्लाजा प्रालिलाई ७५ हजार, एकान्तकुनाको प्रोटिन हाउसलाई ५० हजार रुपैयाँ सहितका ७ वटा पसलललाई २ लाख ६५ हजार रुपैयाँ जरिवाना गरिएको छ।