एजेन्सी – इन्टरनेटको गतिमा नेपालले भारतलाई उछिनेको छ। डाटा स्पिड जाँच गर्ने उकला कम्पनीले मोबाइल इन्टरनेट गतिसँग सम्बन्धित जारी गरेको ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टअनुसार भारतको भन्दा नेपालको इन्टरनेटको गति दुत्र रहेको छ।
इन्टरनेटको गति १०.७८ एमबीपीएसका साथ नेपाल विश्वमा १३०औँ स्थानमा रहेको छ। छिमेकी मुलुक भारत भने नेपालभन्दा पछाडि १३१औँ स्थानमा रहेको छ। भारतको इन्टरनेटको गति १०.६५ एमबीपीएस रहेको छ।
यस्तै, भारतलाई पाकिस्तान र श्रीलंकाले पनि उछिनेको छ। श्रीलंकाको औसत इन्टरनेट गति २२.०४ एमबीपीएस रहेको छ भने पाकिस्तानको १३.०८ एमबीपीएस रहेको छ। श्रीलंका ८३औँ स्थानमा रहँदा पाकिस्तान ११८औँ स्थानमा रहेको छ।
विश्वका १४५ देशमा गरिएको जाँचमा दक्षिण कोरियालाई सबैलाई उछिन्न पहिलो स्थानमा रहेको छ। दक्षिण कोरियाको इन्टरनेट गति औसत १११ एमबीपीएस रहेको छ। यसैबीच, विश्व शक्तिशाली देश अमेरिकासमेत टप टेनमा पर्न सकेन। अमेरिकाको इन्टरनेटको औसत गति ३६.२३ एमबीपीएस रहेको छ। र, ऊ ३५औँ स्थानमा छ।
इन्टरनेट गतिको सूचीमा दक्षिण कोरियापछि दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ। उसको औसत इन्टरनेट गति ६६.४५ एमबीपीएस रहेको छ। यसैगरी, तेस्रो स्थानमा कतार, चौथो स्थानमा नर्वे र पाँचौँ स्थानमा यूएई रहेका छन्।